घर फर्किने बाटो परदेशीले कहिल्यै बिर्सेको हुँदैन।

घर फर्किने बाटो

परदेशीले घर फर्किने बाटो कहिल्यै बिर्सेको हुँदैन।

कहिलेकाहीँ फर्किने इच्छा र फर्किन सक्ने परिस्थितिबीच धेरै वर्षको दूरी रहि दिन्छ।

घरको बाटो बिर्सनलाई त पहिले घर बिर्सिन सक्नुपर्छ।

तर जसको मन अझै पनि आफ्नै आँगनमा अड्किएको छ, जसको सम्झनामा आमा,बुवा को आवाज अझै उस्तै छ, जसले आँखा चिम्लिँदा पनि गाउँको गोरेटो स्पष्ट देख्छ, उसले घर फर्किने बाटो कसरी बिर्सन सक्छ र?

नमस्कार, म दिल अबिरल।

आज म तपाईंसँग एउटा यस्तो मनको कुरा गर्न चाहन्छु, जुन मन हजारौँ किलोमिटर टाढा बसेर पनि हरेक साँझ आफ्नै घर फर्किरहेको हुन्छ।

यो कुनै एक व्यक्तिको कथा होइन यो हरेक प्रदेशी को भोगाई हो ।

यो त आफ्नो उमेरको सबैभन्दा सुन्दर समय परदेशमा बिताइरहेका हजारौँ नेपाली मनहरूको साझा कथा हो।

१. घर छोडेको त्यो बिहान

कहिलेकाहीँ हामि  सोच्ने गर्छौ…

घर छोडेको त्यो बिहान कति सजिलो लागेको थियो!

एउटा झोला थियो। झोलाभित्र केही कपडा, केही कागजपत्र र भविष्यका अनगिन्ती सपनाहरू थिए।

आमाले बाटोमा खानू भनेर झोलामा केही खानेकुरा राखिदिनुभएको थियो।

बुबाले धेरै कुरा गर्नुभएन।

सायद भन्नुपर्ने कुरा धेरै थिए, तर बोल्दा आँसु खस्छ भन्ने डर थियो।

घरको ढोकाबाट बाहिर निस्किँदा  एकपटक पछाडि फर्केर हेरेको त्यो पल ।

आमा ढोकामै उभिएर आखाभरी आसु लिएर उभइएको ।

त्यतिबेला मनमा के लाग्छ  भने , दुई–चार वर्षको त कुरा हो। केही पैसा कमाउँछु, घरको अवस्था सुधार्छु अनि फर्किन्छु।

तर हामि कसैले  एउटा कुरा बुझेकै हुदैन रहेछौ ।

परदेशमा कमाएको पैसा गन्न सकिन्छ, तर त्यसका लागि गुमाएका वर्षहरू गन्न त्यति सजिलो हुँदैन रहेछ भनेर ।

दुई वर्ष भनेर निस्किएको मान्छेलाई कहिले पाँच वर्ष बित्छ, कहिले दस वर्ष पुग्छ, पत्तै हुँदैन।

अनि एकदिन पुरानो तस्बिर हेर्दा मात्र थाहा हुन्छ, आफूले छोडेर आएको घर त उही छ, तर त्यहाँका मानिसहरू बिस्तारै बदलिइ सकेछन्।

२. परदेशको कमाइ र मनको हिसाब

यहाँ बिहान हुन्छ।

काममा जानुपर्छ।

मानिसहरू भेटिन्छन्, कुराकानी हुन्छ। कहिलेकाहीँ हाँसिन्छ पनि।

बाहिरबाट हेर्दा जीवन राम्रै चलिरहेको जस्तो देखिन्छ।

महिनाको अन्त्यमा तलब आउँछ।

घरमा पैसा पठाइन्छ।

कसैको विद्यालयको शुल्क तिरिन्छ। कसैको औषधि किनिन्छ। घरको छानो फेरिन्छ। पुरानो ऋण घटाइन्छ।

घरबाट फोन आउँछ।

“पैसा आयो है, बाबु।”

यो एउटा वाक्य सुन्दा दिनभरिको थकान केही हलुका हुन्छ।

तर फोन राखिसकेपछि मनमा अर्को प्रश्न उठ्छ।

मैले घरमा पैसा त पठाएँ…

तर आफूलाई कहिले पठाउने?

आमा बुवा को औषधिका लागि पैसा पठाउन सक्छु।

तर आमा बुवा  बिरामी हुँदा उहाँको सिरानीमा बसेर निधार छाम्न सक्दिनँ।

छोरा छोरीको पढाइ खर्च पठाउन सक्छु।

तर उनीहरूको विद्यालयको कार्यक्रममा अगाडि बसेर ताली बजाउन सक्दिनँ।

श्रीमतीलाई चाहिएको सामान किन्न सक्छु।

तर  थाकेको साँझ छेउमा बसेर दिनभरिका कुरा सुन्न सधैँ सक्दैनौ ।

यस्तो लाग्छ, परदेशले हामीलाई धेरै कुरा किन्न सक्ने बनायो।

तर पैसाले किन्न नसकिने केही सम्बन्धका पलहरू भने हामीबाट चुपचाप खोस्दै लग्यो।

३. घरबाट आउने त्यो सानो प्रश्न

घरमा फोन गर्दा कहिलेकाहीँ आमाले सोध्नुहुन्छ,

“बाबु, अब कहिले आउँछस् भनेर ?”

तर हामि  हाँस्दै भन्छौ,

“आउँछु नि आमा, अझैँ अलिकति कमाए पछी ।”

आमाले भन्नुहुन्छ,

“पैसा त भोलि पनि कमाइएला, कहिलेकाहीँ घर पनि आइज।”

त्यो वाक्य सुन्दा मन निकै भारी हुन्छ।

किनकि आमालाई सम्झाउन गाह्रो हुन्छ | तेतिखेर यस्तो लाग्छ कि म नफर्किएको घरको माया नभएर त् होइन।

तर यहाँ अझै केही ऋण बाँकी छ।

छोराछोरीको भविष्य सोच्नुपर्छ।

घरको अधुरो काम पूरा गर्नुपर्छ।

फर्किएपछि के गरेर जीवन चलाउने भन्ने उत्तर पनि त खोज्नुपर्छ।

यहा हरेक प्रदेशी लाइ यी सबै जिम्मेवारी छन्।

उता घरमा सानो परिवार  छन । अब पैसा र परिवार यो

दुवैमध्ये कसलाई छोडूँ?

मनले भन्छ, फर्की जा।

परिस्थितिले भन्छ, अझै केही समय बस्।

यही ‘केही समय’ ले जीवनका कति वर्ष खाइसक्यो, त्यसको हिसाब सायद हामी आफैँसँग पनि छैन।

४. छुट्दै गएका जीवनका पलहरू

दिन बित्दै जान्छ घरको परिवार को तस्बिर देखिउन्छ ।

तस्बिरमा बुबाको अनुहार पहिलेभन्दा चाउरिएको देखिन्छ।

आमाको कपाल अझ सेतो भएको हुन्छ।

छोराछोरी आफूले सम्झेको भन्दा अग्ला भइसकेका हुन्छन्।

मनमा अचानक एउटा डर पस्छ।

म घर फर्किँदा के सबै कुरा पहिलेझैँ हुनेछन्?

बुबासँग पहिलेझैँ लामो कुरा गर्न पाइएला?

आमाले पहिलेझैँ ढोकाबाट बोलाउनुहोला?

बाल्यकालमा सँगै हिँड्ने साथीहरूलाई त्यही चौतारीमा भेटिएला?

सायद भेटिएलान्।

सायद नभेटिएलान् पनि ।

किनकि समयले कसैलाई पर्खेर बस्दैन।

हामी परदेशमा भविष्य बनाउँदै गर्दा घरमा कसैको वर्तमान बिस्तारै बितिरहेको हुन्छ।

हामी भोलिका लागि पैसा जम्मा गरिरहेका हुन्छौँ।

उता आमा बुबा भने हामीसँग बिताउन पाउने केही दिनको प्रतीक्षामा हुन्छन ।

कति अनौठो छ है जिन्दगी!

हामी परिवारको सुखका लागि परिवारबाटै टाढा छौँ।

उनीहरूलाई राम्रो जीवन दिन चाहन्छौँ।

तर उनीहरूसँगै बसेर त्यो जीवन बाँड्न सकिरहेका छैनौँ।

५. फर्किने सपना किन पछि सरिरहन्छ?

हामि धेरैपटक सोचने गर्छौ।

अब अर्को वर्ष त् फर्किन्छु।

यति पैसा जम्मा भएपछि फर्किन्छु।

नया घर पूरा भएपछि फर्किन्छु।

बच्चाहरूको पढाइ सहज भएपछि फर्किन्छु।

तर एउटा जिम्मेवारी सकिन नपाउँदै अर्को जिम्मेवारी अगाडि आइपुग्छ।

प्रदेशीको जीवन पनि कस्तो रहेछ!

हामीले बनाएका योजना भन्दा धेरै छिटो जिम्मेवारीहरू बढ्दै जाने।

कहिले कहिँ  मनमनै हिसाब हुन्छ ।

पैसा पहिलेभन्दा केही बढेको छ।

घरको अवस्था पनि सुध्रिएको छ।

तर ऐनामा हेर्दा आफ्नै अनुहारमा उमेरका रेखाहरू थपिएका छन्।

पहिले जुन सपना पूरा गर्न परदेश आएको हुन्छौ, आज त्यो सपना पूरा गर्ने दौडमै अर्को सपना अधुरो छोडिरहेको छौ ।

त्यो सपना हो, आफ्नै घरमा बसेर सामान्य जीवन बाँच्ने।

बिहान आफ्नै आँगनमा घाम ताप्ने।

परिवारसँगै बसेर चिया पिउने।

बुबासँग पुराना कुरा गर्ने।

आमाले पकाएको खाना खाने।

साँझ छोरा छोरी को कुरा सुन्ने।

र राति सुत्दा भोलि फेरि कसैलाई छोडेर जानुपर्छ कि भन्ने चिन्ता नहुने।

कुनै ठूलो महल चाहिएको होइन।

कुनै असाधारण सुख चाहिएको होइन।

चाहिएको त केवल आफ्ना मानिससँग बिताउने केही निश्चिन्त पलहरू हुन्।

तर कहिलेकाहीँ मानिसले खोजेको सबैभन्दा सामान्य खुसी नै सबैभन्दा महँगो पर्दोरहेछ।

६. परदेशीको मौन पीडा

सबै परदेशी दुःखी छन् भन्ने होइन।

कसैले राम्रो अवसर पाएका छन्।

कसैले नयाँ जीवन बनाएका छन्।

कसैका परिवार पनि सँगै छन्।

र कसैले यही परदेशलाई आफ्नो दोस्रो घर बनाइसकेका छन्।

तर परदेशमा खुसी सँग बाँचिरहेको मानिस को मनमा पनि जन्म थलो को एउटा सानो कुना सुरक्षित रहन सक्छ।

त्यहाँ पुराना सम्झनाहरू हुन्छन्।

बाल्यकालका साथीहरू हुन्छन्।

माटोको गन्ध हुन्छ।

आफ्नो नाम बोलाउने परिचित आवाजहरू हुन्छन्।

ती सम्झनाहरू हरेक दिन आउँदैनन्।

तर जब आउँछन्, एकैपटक धेरै कुरा सम्झाइ दिन्छन्।

कहिले काहीँ कामबाट फर्किएर एक्लै कोठामा बस्दा अचानक गाउँ सम्झिन्छौ।

कुनै गीतले पुरानो समय सम्झाइदिन्छ।

कसैले घर परिवार का कुरा गर्दा आफ्नो घर सम्झिन्छौ।

अनि फोन उठाएर घरमा कुरा गर्न मन लाग्छ।

तर घडी हेर्दा अबेर भएको हुन्छ ।

मन मनै सोच्छौ सायद घरमा सबै सुतिसकेका होलान्।

अनि फोन नगरी फेरि राखिदिन्छौ।

यस्तो बेला मनमा एउटा कुरा खेलिरहन्छ।

घर भनेको फर्किनका लागि भएको ठाउँ मात्र होइन रहेछ। घर त मानिस थाक्दा मनले खोज्ने पहिलो आश्रय पनि त् रहेछ।

७. घर फर्किने दिन

हामीलाई थाहा छैन, म कहिले स्थायी रूपमा घर फर्किनेछु भनेर ।

सायद अर्को वर्ष।

सायद अझ केही वर्षपछि।

तर एउटा कुरा भने  थाहा हुन्छ ।

त्यो दिन घर फर्किँदा ठूलो उपलब्धिको सूची बोकेर फर्किनु आवश्यक छैन भनेर ।

मेरा सबै सपनाहरू पूरा भइसकेका हुनुपर्छ भन्ने पनि छैन।

किनकि जीवनका सबै जिम्मेवारी पूरा गरेर मात्र बाँच्न थाल्छु भन्ने हो भने, बाँच्ने समय नै बाँकी नरहन सक्छ।

कहिलेकाहीँ अधुरै काम छोडेर पनि आफ्ना मानिसलाई भेट्न जानु पर्ने रहेछ ।

किनकि पैसा फेरि कमाउन सकिन्छ।

काम फेरि सुरु गर्न सकिन्छ।

तर बितिसकेको समय फर्काउन सकिँदैन।

आमा बुबाको उमेर रोक्न सकिँदैन।

छोरा छोरीको बाल्यकाल फेरि ल्याउन सकिँदैन।

त्यसैले आजकल म एउटा कुरा सोच्ने गर्छु।

जीवनको सफलता भनेको कति कमाइयो भन्ने मात्र होइन रहेछ।

कमाएको पैसाले कसको जीवनमा खुसी ल्यायो, र त्यो खुसीमा आफू कति सहभागी हुन सकियो भन्ने पनि रहेछ।

अन्तिम मनको कुरा

प्रिय परदेशी साथीहरू,

यदि तपाईं पनि घर फर्किने सपना बोकेर वर्षौँदेखि परदेशमा हुनुहुन्छ भने, आफ्नो मनलाई कहिलेकाहीँ सोध्नुहोस्।

म जेका लागि यति धेरै दौडिरहेको छु, के त्यो दौडले मलाई आफ्ना मानिसको नजिक पुर्‍याइरहेको छ, कि अझ टाढा बनाइरहेको छ?

आजै फर्किने परिस्थिति नहोला।

अझै केही जिम्मेवारी बाँकी होलान्।

तर घर फर्किने दिनको प्रतीक्षा गर्दागर्दै घरसँगको सम्बन्ध नै टाढा हुन नदिनुहोस्।

समय मिल्दा फोन गर्नुहोस्।

सम्भव भए केही दिनका लागि भए पनि भेट्न जानुहोस्।

आफ्ना मानिसलाई पैसा मात्र होइन, आफ्नो समय र माया पनि दिनुहोस्।

किनकि एकदिन घर फर्किने बाटोमा हिँड्दा हाम्रो हातमा कमाइको हिसाब त होला…

तर मनले खोजेको मान्छे त्यही ठाउँमा, त्यही उमेरमा, त्यही अवस्थामा पर्खिरहेको हुन्छ भन्ने निश्चित हुदैन ।

र अन्त्यमा…

परदेशीले घर फर्किने बाटो कहिल्यै बिर्सेको हुँदैन।

उसले त केवल आफ्नो मनलाई सम्झाइरहेको हुन्छ,

“अझै केही दिन… अझै केही समय…”

तर ती केही दिनहरूले नै कहिलेकाहीँ आधा जिन्दगी बिताइदिन्छन्।

घर पुग्नका लागि बाटो लामो भएको होइन रहेछ।

घर फर्किने निर्णयसम्म पुग्न नै जीवनका धेरै वर्ष लाग्दा रहेछन्।

म दिल अबिरल।

तपाईं सुन्दै हुनुहुन्थ्यो, प्रदेशी को कथा ।

शब्दमा जीवन, जीवनमा कथा। मन परे like share गरेर सम्झनुहोस धन्यबाद

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

Leave a Comment