नपाए को खोज्दा खोज्दै, पाएको गुमाइ रहेका त छैनौँ?

नपाए को खोज्दा खोज्दै, पाएको गुमाइ रहेका त छैनौँ?

कसैलाई आफ्नै घर चाहिएको छ। वर्षौँदेखि भाडाको कोठामा बसेको मानिसले सोचि रहेको हुन्छ, सानै भए पनि आफ्नै घर भए कति आनन्द हुन्थ्यो।

तर आफ्नै घर भएको मानिस लाई त्यो घर साँघुरो लाग्न थालेको छ। उसलाई अझ ठूलो बैठक कोठा, फराकिलो आँगन र आधुनिक सजावट भएको अर्को घर चाहिएको छ।

गाडी नभएको मानिस सार्वजनिक याता यातमा यात्रा गर्दै सोच्दछ, एउटा सामान्य गाडी भए पनि कति सजिलो हुन्थ्यो। तर गाडी भएको मानिस बाटोमा आफूभन्दा महँगो गाडी देख्दा आफ्नै गाडी पुरानो लाग्न थाल्छ।

नेपालमा बसेको मानिसको सपना विदेश पुग्नु छ। उसलाई लाग्छ, विदेश पुगेपछि जीवन व्यवस्थित हुनेछ, आम्दानी बढ्नेछ र दुःख कम हुनेछ। तर विदेशमा वर्षौँ बिताएको मानिस लाई आफ्नै गाउँको साँझ याद आउँछ। घरको आँगन, आमाले पकाएको खाना, साथीहरू सँगको भेट घाट र चाडपर्वको रौनक सम्झँदा उसको मन भारी हुन्छ।

यसरी हेर्दा हामी सबैसँग केही न केही छ, तर हाम्रो ध्यान प्रायः आफूसँग भएको कुरामा होइन, नभएको कुरामा अडिएको हुन्छ।

चाहना किन कहिल्यै पूर्ण हुँदैन?

चाहना आफैँमा नराम्रो होइन। चाहना नभएको भए मानिसले नयाँ कुरा सिक्ने, परिश्रम गर्ने र जीवनलाई अगाडि बढाउने प्रेरणा पाउँदैनथ्यो। आजको संसारमा भएका धेरै आविष्कार र परिवर्तन मानिसको आवश्यकता र चाहनाबाटै जन्मिएका हुन्।

समस्या चाहना हुनुमा होइन, एउटा चाहना पूरा भएपछि खुसी सधैँका लागि टिकि रहन्छ भन्ने हाम्रो भ्रममा छ।

हामीले कुनै वस्तु वा उपलब्धि नपाउँदा सम्म त्यसलाई जीवनको सबैभन्दा ठूलो आवश्यकता ठान्छौँ। पाएपछि केही समय अत्यन्त खुसी हुन्छौँ। तर बिस्तारै त्यो हाम्रो दैनिक जीवनको सामान्य हिस्सा बन्न पुग्छ। कुनै समय सपना जस्तो लागेको वस्तुले केही महिनापछि पहिलेको जस्तो उत्साह दिन छोड्छ।

त्यसपछि मनले अर्को लक्ष्य खोज्न थाल्छ।

सानो घर पाएपछि ठूलो घर, साधारण गाडीपछि महँगो गाडी, राम्रो जागिरपछि अझ ठूलो पद, केही बचत भएपछि अझ धेरै सम्पत्ति। हामी पुग्न खोजेको गन्तव्य सधैँ केही कदम पर सर्दै जान्छ।

सायद चाहनाको स्वभाव नै त्यस्तै हो। एउटा चाहना पूरा हुँदा त्यसको अन्त्य हुँदैन, त्यही ठाउँबाट अर्को चाहनाको जन्म हुन्छ।

तर प्रत्येक नयाँ चाहनाको पछि दौडिनुअघि एउटा प्रश्न सोध्नु आवश्यक छ:

“यो साँच्चै मेरो आवश्यकता हो, कि अरूलाई देखेर जन्मिएको इच्छा मात्र हो?”

तुलनाले आफ्नै जीवनलाई सानो बनाउँछ

हामीलाई दुःखी बनाउने कुरा सधैँ अभाव मात्र हुँदैन। धेरैपटक अरूसँगको तुलना नै हाम्रो असन्तुष्टिको मुख्य कारण हुन्छ।

आफ्नो घरमा खुसी भएको मानिसले छिमेकीको ठूलो घर देखेपछि आफ्नो घरलाई कमजोर ठान्न थाल्छ। आफ्नै काममा सन्तुष्ट भएको व्यक्तिले साथीको पदोन्नति सुनेपछि आफू पछाडि परेको अनुभव गर्छ। परिवारसँग रमाइ रहेको मानिसले अरूको विदेश भ्रमणको तस्बिर देखेपछि आफ्नो जीवन नीरस ठान्न सक्छ।

तुलनाको सबैभन्दा ठूलो कमजोरी के हो भने हामी आफ्नो सम्पूर्ण जीवनलाई अरूको देखिएको एउटा अंशसँग तुलना गर्छौँ।

हामीलाई आफ्नो संघर्ष, ऋण, कमजोरी, डर र अधुरा सपना सबै थाहा हुन्छन्। तर अरूको जीवनमा उनीहरूले देखाउन चाहेको सुन्दर भाग मात्र देखिन्छ। त्यसपछि हामी उनीहरूको बाहिरी चमकसँग आफ्नो भित्री पीडाको तुलना गर्न थाल्छौँ।

यही तुलना बारम्बार दोहोरिँदा हामीले आफ्नै उपलब्धि लाई सामान्य र अरूको उपलब्धि लाई असाधारण ठान्न थाल्छौँ।

हामी कति टाढा आइपुगेका छौँ भन्ने बिर्सन्छौँ। केवल अरू हामीभन्दा कति अगाडि छन् भन्ने मात्र देख्न थाल्छौँ।

सामाजिक सञ्जाल ले देखाउने अधुरो सत्य

सामाजिक सञ्जाल ले हामीलाई संसारसँग जोडेको छ। यसले ज्ञान, अवसर र अभिव्यक्तिको नयाँ ढोका खोलेको छ। तर यही माध्यमले अनजानमै हाम्रो असन्तुष्टि पनि बढाइ रहेको छ।

सामाजिक सञ्जालमा मानिसहरूले प्रायः जीवनका राम्रा क्षण देखाउँछन्। नयाँ घर, नयाँ गाडी, विदेश यात्रा, स्वादिलो खाना, सफल व्यवसाय, हाँसिरहेको परिवार र सुन्दर सम्बन्ध।

तर त्यही घरको ऋण देखिँदैन। गाडी किन्न गरेको संघर्ष देखिँदैन। यात्राको पछाडिको थकान देखिँदैन। मुस्कान भित्र लुकेको चिन्ता देखिँदैन। राम्रो देखिएको सम्बन्ध भित्रको दूरी पनि देखिँदैन।

हामी अरूको जीवनको सम्पादित दृश्य हेर्छौँ, तर त्यसलाई उनीहरूको पूर्ण जीवन ठान्छौँ।

बिस्तारै हामीलाई आफ्नो साधारण दिन व्यर्थ लाग्न थाल्छ। घरमा परिवारसँग बसेर खाएको खाना सामान्य लाग्छ। स्वस्थ भएर बिहान उठ्नु सामान्य लाग्छ। नियमित काम हुनु, घर फर्कने ठाउँ हुनु र दुःखमा सम्झने मानिस हुनु पनि सामान्य लाग्छ।

वास्तवमा यिनै सामान्य लाग्ने कुरा जीवनका सबैभन्दा असाधारण उपहार हुन सक्छन्।

सामाजिक सञ्जाल हेर्नु गलत होइन। तर त्यहाँ देखिएको हरेक चमकलाई सत्यको पूर्ण रूप मान्नुचाहिँ गलत हुन सक्छ।

सन्तोष र प्रगति फरक कुरा हुन्?

कतिपय मानिसलाई लाग्छ, सन्तोष गर्नु भनेको महत्त्वाकाङ्क्षा त्याग्नु हो। आफूसँग भएकोमा खुसी भएपछि मानिसले प्रगति गर्न छोड्छ भन्ने धारणा पनि पाइन्छ।

तर सन्तोष र निष्क्रियता एउटै कुरा होइनन्।

सन्तोषको अर्थ, “अब मलाई केही चाहिँदैन” भन्नु होइन। यसको अर्थ, “आज मसँग जे छ, त्यसको मूल्य बुझ्छु; तर भोलिलाई अझ राम्रो बनाउन पनि प्रयास गर्छु” भन्नु हो।

असन्तुष्टि ले पनि मानिस लाई अघि बढाउन सक्छ, तर त्यस यात्रामा शान्ति हुँदैन। ऊ एउटा लक्ष्य पूरा गरेपछि खुसी हुन नपाउँदै अर्को अभाव खोज्न थाल्छ।

सन्तोष बाट जन्मिएको प्रगतिमा भने हतार कम हुन्छ, स्पष्टता बढी हुन्छ। मानिस अरूलाई जित्नका लागि होइन, हिजोको आफू भन्दा राम्रो बन्नका लागि प्रयास गर्छ।

सन्तोष ले हामीलाई रोक्दैन। यसले हामीलाई आफ्नो यात्राको सम्मान गर्दै अगाडि बढ्न सिकाउँछ।

प्रगति जीवनको बाहिरी यात्रा हो भने सन्तोष भित्री शान्ति हो। यी दुईमध्ये एउटा रोज्नुपर्ने होइन। दुवैलाई सँगसँगै लैजान सकिन्छ।

कृतज्ञ हुँदै ठूलो सपना देख्न सकिन्छ

कृतज्ञ हुनु भनेको सानो सपना देख्नु होइन। वर्तमानलाई स्वीकार गर्नु भनेको भविष्यप्रति उदासीन हुनु पनि होइन।

एउटा सानो घर भएको मानिसले ठूलो घरको सपना देख्न सक्छ। तर नयाँ घरको खोजीमा अहिलेको घरभित्र बस्ने मानिसहरूको माया बिर्सनु हुँदैन।

साधारण गाडी चलाउने मानिसले राम्रो गाडी किन्ने लक्ष्य राख्न सक्छ। तर नयाँ गाडी नआएसम्म पुरानो गाडीले दिएको सुविधा र सुरक्षित यात्रालाई तुच्छ ठान्नु हुँदैन।

विदेशमा बसेको मानिसले आर्थिक सफलता खोज्न सक्छ। तर त्यस यात्रामा आफ्नो स्वास्थ्य, परिवार, सम्बन्ध र मातृभूमिसँगको आत्मीयता गुमाउनु हुँदैन।

कृतज्ञता ले सपना लाई सानो बनाउँदैन। बरु सपनासम्म पुग्ने यात्रालाई सुन्दर बनाउँछ।

कृतज्ञ मानिसले भन्छ:

“मसँग भएको कुरा पर्याप्त छ, तर म आफ्नो क्षमता अझ विस्तार गर्न चाहन्छु।”

अकृतज्ञ मनले भन्छ:

मैले अझ धेरै नपाए सम्म मेरो जीवनको कुनै मूल्य छैन।

यिनै दुई सोचबीच जीवनको ठूलो भिन्नता लुकेको हुन्छ।

नपाएको खोज्दा पाएको नछुटोस्

हामी भविष्य सुरक्षित बनाउन आज परिश्रम गर्छौँ। तर कहिले काहीँ भविष्य बनाउने दौडमा वर्तमान नै बाँच्न बिर्सन्छौँ।

पैसा कमाउने क्रममा स्वास्थ्य गुमाउँछौँ। ठूलो घर बनाउने क्रममा त्यही घरमा बस्ने परिवारसँगको समय गुमाउँछौँ। काममा सफल हुने प्रयासमा आफ्ना मानिसको आवाज सुन्न छोड्छौँ। सामाजिक प्रतिष्ठा जोगाउने क्रममा आफ्नै सरलता र आत्मिक शान्ति गुमाउँछौँ।

जब खोजेको कुरा प्राप्त हुन्छ, कहिलेकाहीँ त्यसको मूल्य तिर्न हामीले गुमाएको कुरा त्योभन्दा धेरै महत्त्वपूर्ण भइसकेको हुन्छ।

हामी धेरै पैसा कमाउन सक्छौँ, तर बितेको समय किन्न सक्दैनौँ। सुविधा थप्न सक्छौँ, तर बिग्रिएको स्वास्थ्य तुरुन्त फर्काउन सक्दैनौँ। हजारौँ मानिससँग जोडिन सक्छौँ, तर टाढिएका आफ्ना मानिससँगको पुरानो आत्मीयता सधैँ उस्तै बनाउन सक्दैनौँ।

त्यसैले सपना देख्दा, दौडिँदा र कमाउँदा बीचबीचमा रोकिएर हेर्नुपर्छ:

मैले के प्राप्त गर्दै छु?

त्यसका लागि के गुमाउँदै छु?

र मैले गुमाइरहेको कुरा फेरि प्राप्त गर्न सकिन्छ कि सकिँदैन?

कहिलेकाहीँ फर्केर हेर्नुपर्छ

आज हामीसँग भएका धेरै कुरा कुनै समय हाम्रो प्रार्थना थिए।

आज सामान्य लागेको जागिर कुनै समय खोजिरहेको अवसर हुन सक्छ। अहिले साँघुरो लागेको घर कुनै समय आफ्नै छानोको सपना थियो। अहिले पुरानो लागेको गाडी कुनै समय ठूलो सुविधा थियो। आज सामान्य लागेका परिवारका सदस्यहरू कुनै दिन केवल सम्झनामा सीमित हुन सक्छन्।

यसको अर्थ हामी जहाँ छौँ, त्यहीँ रोकिनुपर्छ भन्ने होइन। अघि बढ्नुपर्छ, नयाँ कुरा सिक्नुपर्छ, ठूला सपना देख्नुपर्छ र आफ्नो जीवनलाई अझ राम्रो बनाउनुपर्छ।

तर अगाडि हेर्दाहेर्दै पछाडि फर्केर आफूले पार गरेको बाटो पनि हेर्नुपर्छ। टाढाको उज्यालोतर्फ दौडिँदा आफ्नो हातमा बलिरहेको सानो दियो निभ्न दिनु हुँदैन।

जीवन केवल पाउने यात्रा होइन। पाएको कुरा चिन्नु, त्यसको सम्मान गर्नु र जोगाउनु पनि जीवनकै महत्त्वपूर्ण कला हो।

सायद खुसी सबै चाहना पूरा भएको अवस्थामा भेटिँदैन। खुसी त अपूर्ण चाहनाहरूका बीचमा पनि आफूसँग भएका कुराको मूल्य बुझ्न सक्ने मनमा भेटिन्छ।

त्यसैले आज एकछिन रोकिनुहोस्। आफ्नो घर हेर्नुहोस्। परिवारको अनुहार हेर्नुहोस्। आफ्नो स्वास्थ्य, काम, यात्रा र संघर्ष सम्झनुहोस्। आफूले गुमाएका कुरा मात्र होइन, अझै बाँकी रहेका अमूल्य कुरा पनि गन्नुहोस्।

अनि आफैँलाई सोध्नुहोस्:

नपाएको खोज्दाखोज्दै, पाएको गुमाइरहेका त छैनौँ?

यसपालिको तीज मनाऔँ कसरी?

यसपालिको तीज मनाऔँ कसरी? देश बाढी, पहिरो र विपत्तिको पीडामा डुबेका बेला मनमा उठेको यही प्रश्न लाई यस कविता ले आवाज दिएको छ। रातो सारी, …

Read more

मेरो भविष्य….

विपत्तिपछि आफ्नो घर, बा–आमा र भविष्य खोजिरहेको एउटा बालकको कथा
मेरो भविष्य

बिहान गाँस खुवाएर,
हात हल्लाउँदै स्कुल पठाएका मलाई,
एकैछिनमा के भयो यस्तो,
म बुझ्नै सकिनँ।

घर फर्किँदा बास छैन,
खाने एक गाँस छैन,
बा–आमाको सास छैन,
खोज्दा कतै लास छैन।

बिहान सम्म त
आमाको हातले मेरो कपाल सजिएको थियो,

ढिलो नगर्नु  है भन्दै
ढोका सम्म आएर हेरि रहेकी थिइन्।

बाले पनि यसै भन्नु भएको थियो,
राम्रोसँग पढ है,
तँ ठूलो मान्छे बन्नुपर्छ,
तैले घरको दुःख फेर्नुपर्छ।

जिम्मेवारीको खाका कोर्नु पर्छ

बुदेस कालमा हामीलाई हेर्नुपर्छ

म किताब बोकेर निस्किएको थिएँ,
झोलाभित्र कापी थियो,
कलम थियो,
र मनभित्र एउटा सानो सपना थियो।

कसलाई थाहा थियो र
म फर्केर आउँदा
फर्किने त्यो बाटो रहने छैन,
बस्ने त्यो घर रहने छैन,
खेल्ने त्यो आँगन रहने छैन।

तेही आगन

जहाँ आमाले बिहान पानी छर्किन्थिन्,
आज त्यहाँ हिलो मात्रै छ।

जहाँ बाले साँझ बसेर
दिनभरको थकान बिसाउनु हुन्थ्यो,
आज त्यहाँ ढुंगा र भग्नावशेष मात्रै छ ।

हो तेही आगन

जहाँ म खेल्थेँ,
जहाँ म हाँस्थेँ,
जहाँ म रिसाउँथेँ,
अनि आमाको काखमा निदाउँथेँ,
आज त्यो ठाउँलाई
म आफैँले चिन्न सकिरहेको छैन ।

म के गरौ कसो गरौ भए

म अलमल भए

म तेही ढलमल भए

अनि .. अनि ..

म चिच्याएँ र भने

 “आमा…!”

पहाडले मेरो आवाज फर्कायो,
तर आमाले फर्काइनन्।

म कराएँ,
“बा…!”

हावाले मेरो आवाज बोकेर गयो,
तर बाको आवाज आएन।

मानिस हरू दौडिरहेका थिए,
कोही कसैलाई खोज्दै थिए,
कोही रोइ रहेका थिए,
कोही ढुंगा पल्टाउँदै थिए,

 कोही हात जोडेर
आकाश तिर हेरि रहेका थिए।

म भने त्यहीँ उभिएर सोचिरहेको थिएँ,

मेरो घर कहाँ गयो?
मेरो परिवार कहाँ गयो?
अनि
मेरो भविष्य कहाँ गयो?

हिजोसम्म मलाई
भोलिको चिन्ता थिएन।

भोलि स्कुल जान्छु,
गृहकार्य गर्छु,
साथीहरूसँग खेल्छु,
सबै संग्ग रमाउछु

मेरो भोलि यत्तिकै सरल थियो।

तर आज
“भोलि” भन्ने शब्द नै
मलाई डर लाग्ने भएको छ।

किनकि आज

मेरो किताब भिजेको छ,

कापी भिजेको छ

पोसाक भिजेको  छ,
तर त्योभन्दा धेरै
मेरो मन भिजेको छ।

गुरुले पढाउनुभएको थियो,

“परिवार नै पहिलो विद्यालय हो।”

अब मेरो विद्यालय कहाँ छ गुरुबा?

गुरुले भन्नुभएको थियो,

“आमाबुबा नै पहिलो भगवान् हुन्।”

अब मेरा भगवान् कहाँ छन्?

तेही पर एक मन्दिर अझै उभिएको छ,
तर मेरो घर किन उभिएन?

भगवान्,
तिमी सबैको कुरा सुन्छौ भने
मेरो एउटा प्रश्नको उत्तर देऊ न,

म सानो थिएँ,
मेरो के गल्ती थियो?

मेरो परिवार को के गल्ति थियो ?

अनि मेरो समाज मेरो देस को

हामीले त
ठूलो महल मागेका थिएनौँ,
सुनचाँदी मागेका थिएनौँ,
हामीलाई त
त्यही सानो घर काफी थियो।

आमाको हाँसो काफी थियो,
बाको काँध काफी थियो,
दुई छाक गाँस काफी थियो,

बस्ने बास काफी थियो
र एउटा सुरक्षित रात काफी थियो।

आज राहतको पालमुनि बसेर
म रात काटिरहेको छु।

वरिपरि मानिस छन्,
तर म एक्लो छु।

खाना दिने हात छन्,
तर आमाको हात छैन।

सान्त्वना दिने आवाज छन्,
तर बाको आवाज छैन।

कसैले मेरो टाउको मुसारेर भन्छ,
“नरोऊ बाबु।”

तर म कसरी नरोऊँ?

आँसु रोक्नलाई पनि त
एउटा आफ्नै मान्छे चाहिँदो रहेछ।

म राति आँखा बन्द गर्दा
अझै आमालाई देख्छु।

 खान बोलाइ रहेकी जस्तो
बा लाई देख्छु,
डराउनु हुँदैन है हेर
म छु नि भने जस्तो

अनि म झसङ्ग ब्युँझन्छु।

वरिपरि पाल हल्लि रहेको छ
बाहिर पानी परि रहेको छ ,
आज  मेरो छेउमा
बा छैनन् ,
आमा छैनन् ।

अहिले
मलाई लाग्छ,

सपना त त्यो बिहान थियो,
तर वास्तविकता यही रात हो।

मेरो देशका ठूला मान्छेहरू हो,
म एउटा सानो बालक हुँ।

मलाई राजनीति आउँदैन,
मलाई भाषण आउँदैन,
म योजना, बजेट, नीति
केही बुझ्दैन

मलाई यत्ति मात्र थाहा छ,

म फेरि स्कुल जान चाहन्छु।

म फेरि किताब समाउन चाहन्छु।

म फेरि राति डर नलाग्ने
एउटा घरमा सुत्न चाहन्छु।

मलाई कसैले दया नगरोस्,
मलाई अवसर देओस्।

मलाई अनाथ भनेर नहेरोस्,
मलाई देशको सन्तान भनेर हेरोस्।

किनकि
मेरा बा आमाले देखेको सपना
अझै मभित्र बाँचेको छ।

बाले भनेको कुरा  ,

पढेर ठूलो मान्छे बन्नुपर्छ।

अनि आमाले,

 कहिले नहार्नु भनेको

हो आमा,
म हार्दिनँ।

म रोए पनि उठ्नेछु।

म टुटे पनि जोडिनेछु।

म डराए पनि अघि  बढ्नेछु।

किनकि
तपाईंहरूको अन्तिम सपना
अब मेरो जिम्मेवारी बनेको छ।

म फेरि किताब किन्नेछु,
म फेरि अक्षर चिन्नेछु
म फेरि भविष्य लेख्नेछु।

तर मेरो एउटा विन्ती छ,

मेरो जस्तो भविष्य
अर्को कुनै बालकको नबनोस्।

स्कुल गएको बच्चाले
फर्केर आउँदा घर खोज्न नपरोस्।

घर भग्नावशेष पल्टाउदै  

बा आमा खोज्न  नपरोस्।

परिवार  फोटो छातीमा च्यापेर
रात काट्न नपरोस्।

कुनै आमाले
आफ्नो सन्तानको झोला भेटेर
सन्तान नपाउने अवस्था नआओस्।

कुनै बाले
आफ्नो छोराको जुत्ता चिनेपछि
आकाशतिर हेरेर रुन नपरोस्।

देश बनाउनेहरू हो,

पुल बलियो बनाइ दिनुहोस्,
बस्ती सुरक्षित बनाइ दिनुहोस्,
नदीको बाटो बनाइ दिनुहोस्,
पीडाको आवाज सुनी दिनुहोस्।

विपत्ति आएपछि
हात जोडेर श्रद्धाञ्जली दिनुभन्दा,

विपत्ति आउनुअघि
जीवन जोगाउने व्यवस्था गरिदिनुहोस्।

हामीलाई राहत मात्र होइन,
सुरक्षित भविष्य चाहिएको छ।

हामीलाई सहानुभूति मात्र होइन,
फेरि उभिने आधार चाहिएको छ।

हामीलाई भाषण होइन,
बाँच्न सक्ने देश चाहिएको छ।

म आज
हिलो लागेको कापीबाट
एउटा सफा पाना निकाल्दै छु।

त्यो पानामा
फेरि आफ्नो नाम लेख्दै छु।

पहिलेभन्दा अलि काँपेको हातले,
तर पहिलेभन्दा धेरै हिम्मतले।

म लेख्दै छु,

मेरो भविष्य अझै सकिएको छैन।”

मेरो घर बग्यो,
तर सपना बगेको छैन।

मेरो संसार टुट्यो,
तर हिम्मत टुटेको छैन।

मेरा बा–आमा देखिँदैनन्,
तर उहाँहरूको आवाज
अझै मेरो मनमा छ।

“पढ है बाबु…भनेको

हार नमान है…भनेको

आमा,
म पढ्नेछु।

बा,
म हार मान्ने छैन।

एक दिन
म यही देशमा उभिएर
अरू कसैको घर जोगाउने मान्छे बन्नेछु।

कसैको सपना बचाउने मान्छे बन्नेछु।

कसैको बालक
म जस्तै सडकमा उभिएर
मेरो भविष्य कहाँ छ?

 भन्दै रुन नपरोस् भनेर,

म आफ्नो भविष्य आफैँ बनाउनेछु।

आज मसँग
बास छैन,
गाँस छैन,
बा–आमाको सास छैन,
खोज्दा कतै लास छैन।

तर मसँग अझै
एउटा कुरा बाँकी छ,

आशा।

र यही आशाबाट
म फेरि आफ्नो घर बनाउनेछु,
आफ्नो जीवन बनाउनेछु,
आफ्नो देश बनाउनेछु।

किनकि म
विपत्तिले बाँकी राखेको
एउटा बालक मात्र होइन,

म भोलिको नेपाल हुँ।
म मेरो बा–आमाको सपना हुँ।
म नै मेरो भविष्य हुँ।

दिल अबिरल

मणिलाई खुट्टामा र सिसालाई सिरमा लगाए पनि मूल्य किन फरक हुन्छ?

मणि र सिसाको तुलना गर्दै मानिसको वास्तविक मूल्य र चरित्रबारे जीवन दर्शन प्रस्तुत गरिएको प्रतीकात्मक चित्र।

मणिलाई खुट्टामा र सिसालाई सिरमा लगाए पनि किन मणि मणि नै रहन्छ? मणि र सिसाको उदाहरणमार्फत मानिसको वास्तविक मूल्य, चरित्र, आत्मसम्मान र जीवनको सत्यलाई सरल …

Read more

जब समय थियो अवसर थिएन | विदेशको जीवनको एउटा सत्य

विदेशको जीवन हिजो मात्र सुरु भएको जस्तो लाग्छ। तर समय चुपचाप बितिरहन्छ। “जब समय थियो अवसर थिएन” भन्ने अनुभूति हजारौँ नेपालीको साझा कथा हो। हिजो …

Read more

डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्छ|

डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्छ| डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्न थाल्यो डिभोर्स हुनु अघि मलाई श्रीमानको घर जेल जस्तो लाग्थ्यो। तर …

Read more

एक साँचो लिडर कस्तो हुन्छ?

र एक साधारण मान्छे कसरी असाधारण लिडर बन्न सक्छ? … आज एउटा निकै महत्वपूर्ण विषयमा कुरा गर्न चाहन्छु— एक साँचो लिडर कस्तो हुन्छ? र एक …

Read more

पहिचान र कामको वास्तविक सम्बन्ध

पहिचान र कामको वास्तविक सम्बन्ध हरेक मानिससँग कुनै न कुनै पहिचान हुन्छ। कसैको पहिचान पारिवारिक पृष्ठभूमिबाट आउँछ, कसैको शिक्षा र पदबाट, कसैको देश र संस्कृतिबाट। …

Read more