जब समय थियो अवसर थिएन | विदेशको जीवनको एउटा सत्य

विदेशको जीवन हिजो मात्र सुरु भएको जस्तो लाग्छ। तर समय चुपचाप बितिरहन्छ। “जब समय थियो अवसर थिएन” भन्ने अनुभूति हजारौँ नेपालीको साझा कथा हो।

हिजो मात्र विदेश आएको जस्तो लाग्थ्यो …

कहिलेकाहीँ जीवन मा  कुनै ठूलो घटना नभएर , एउटा सानो अनुभूतिले नै मनलाई गहिरो गरी झस्काइ दिन्छ।

आज ऐनामा आफ्नै अनुहार हेर्दा अचानक मनमा एउटा प्रश्न उठ्यो कि …

म यति छिटो परिवर्तन (बुढो) कहिले भएँ?

हिजो मात्र त विदेश आएको जस्तो लाग्छ।

हातमा एउटा सानो झोला, आँखाभरि सपना, मनभरि परिवारको सम्झना र भविष्यप्रतिको ठूलो आशा लिएर घरबाट निस्किएको दिन अझै पनि ताजै छ।

त्यतिबेला मनमा एउटै विश्वास थियो।

केही वर्ष दुःख गरौँला। पैसा कमाउला । घर बनाउला । परिवारलाई सुखी बनाउला । अनि फर्किएर आफ्नै देशमा शान्त जीवन बिताउला ।

तर जीवनले हाम्रो योजना सुनेर होइन, आफ्नै समयअनुसार यात्रा गराउँदो रहेछ।

विदेश आएपछि मैले दिन गन्ने बानी बसाएँ।

कहिले तलब आउँछ?

कति घर पठाउने?

कति बचत गर्ने?

कति खर्च गर्ने?

हरेक रुपैयाँको हिसाब राखेँ।

तर एउटा हिसाब राख्न भने सधैँ बिर्सिरहेँ…

यो हिसाब थियो समयको।

क्यालेन्डरले चुपचाप वर्षहरू गनिरह्यो।

म भने अर्को महिनाको तलब पर्खिरहेँ।

पैसा कहिले बढ्यो, कहिले घट्यो, त्यो थाहा पाइरहेँ।

तर उमेर कहिले अघि बढ्यो…

जवानी कहिले विस्तारै टाढिँदै गयो…

बुबा,आमाको अनुहारमा चाउरी कहिले थपियो…

छोरा छोरी हरु  कहिले हुर्किए…

यी सबै समयले आफ्नो हिसाबमा लेखिरह्यो,तर  मैले भने यो हिसाब मा कहिल्यै ध्यान दिइनँ।

जीवनको सबैभन्दा अनौठो सत्य सायद यही रहेछ।

जब समय थियो, अवसर थिएन।

जवानी थियो, आर्थिक अवस्था थिएन।

अनि जब अवसर आयो…

समय धेरै अगाडि बढि सकेको थियो।

अर्थ जोडियो…

तर जवानी पहिले जस्तो रहेन।

आज बैंक खातामा केही बचत छ।

घर पनि बनेको छ ।

परिवारको धेरै आवश्यकता पनि पूरा भएको छ ।

तर समयसँगै हराएका ती साना पलहरू भने कुनै बैंकमा जम्मा भएका रहेनछन्।

आमाको काखमा सिरानी राखेर  गफ गर्ने ती साँझहरू…

बुबाको काँध समातेर हिँड्ने ती बाटोहरू…

साथीहरूसँग हाँसेका दिनहरू…

यी सबै जीवनका सबैभन्दा धनी क्षण रहेछन्।

तर त्यसबेला हामीलाई तिनीहरूको मूल्य थाहा हुँदैन रहेछ ।

हामी भविष्य बनाउन यति व्यस्त हुन्छौँ कि वर्तमान बाँच्न नै बिर्सिन्छौँ।

सायद त्यसैले आज धेरै मानिसहरूको मनमा एउटा अनौठो भावना हुन्छ।

सबै छ भन्ने लाग्छ… तर केही छैन।

फेरि कहिले काहीँ…

केही छैन भन्ने लाग्छ… तर वास्तवमा सबैभन्दा मूल्यवान कुरा अझै बाँकी हुन्छ।

किनकि जीवनको मूल्य बैंक खाताले होइन, सम्झनाले मापन गर्ने रहेछ ।

पैसा आवश्यक छ।

संघर्ष पनि आवश्यक छ।

अनि  जिम्मेवारी बाट भागेर जीवन पनि  बन्दैन रहेछ ।

तर जिम्मेवारी पूरा गर्ने दौडमा आफ्नो समय, आफ्नो स्वास्थ्य र आफ्ना मानिस हरूलाई नै हराइदियौँ भने त्यो सफलताले मन कहिले  भरिँदैन।

आज पनि यदि तपाईं विदेशमा हुनुहुन्छ भने संघर्ष गरिरहनुहोस्।

आफ्नो सपना नछोड्नुहोस्।

तर कहिलेकाहीँ घडी पनि हेर्नुहोस्।

क्यालेन्डरका पाना पनि हेर्नुहोस्।

आफ्ना मान्छेलाई फोन गर्न पाँच मिनेट निकाल्नुहोस्।

आफ्नो शरीरलाई आराम दिन केही समय छुट्याउनुहोस्।

किनकि…

हराएको पैसा फेरि कमाउन सकिन्छ।

हराएको सम्पत्ति फेरि जोड्न  सकिन्छ।

तर हराएको समय…

हराएको जवानी…

हराएको एउटा अँगालो…

र हराएको एउटा साँझ…

ती कहिल्यै फर्केर आउँदैनन्। यसलाई न जोडेको धन ले किन्न सकिन्छ न त्  फेरी जम्मा गर्न |

जीवनको अन्त्यमा हामीले कति कमायौँ भन्ने भन्दा पनि, कति अर्थपूर्ण रूपमा आफु बाँच्यौँ भन्ने प्रश्नले बढी सताउँछ।

सायद यही जीवनको सबैभन्दा ठूलो सत्य हो।

र यही कारणले आज पनि मनले चुपचाप भन्छ…

हिजो मात्र विदेश आएको जस्तो लाग्थ्यो…

तर क्यालेन्डरले चुपचाप वर्षौँ गनेर सकि सकेको रहेछ।

एक दिन बैंक खातामा पैसा हुनेछ।
घर पनि हुनेछ।
सायद गाडी पनि हुनेछ।

तर यदि त्यो दिन ऐनामा आफूलाई हेर्दा मनले यही भन्नेछ …

“कति  छिटो समय बितेछ?”

त्यो प्रश्नको उत्तर संसारको कुनै बैंकले दिन सक्दैन।

किनकि जीवनले अन्तिममा हामीसँग पैसाको हिसाब माग्दैन।

उसले केवल यति सोध्छ…

“तिमीले बाँच्यौ मात्र  कि ? केवल कमाएउ मात्र ?”

सायद यही नै जीवनको सबैभन्दा महँगो प्रश्न हो ।

तेसैले ….

समय थियो । अबसर थिएन ।

जवानि थियो । आर्थिक थिएन ।

अबसर आयो समय रहेन ।

 अर्थ जोडियो जवानि रहेन ।

सबै छ भनम केहि छैन ।

 केहि छैन भनम सबै छ जस्तै छ ।  (दिल अविरल )

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

Leave a Comment