यसपालिको तीज मनाऔँ कसरी? देश बाढी, पहिरो र विपत्तिको पीडामा डुबेका बेला मनमा उठेको यही प्रश्न लाई यस कविता ले आवाज दिएको छ। रातो सारी, चुरा, माइती र दरको उल्लास सँगै दुःख मा परेका छिमेकी प्रतिको जिम्मेवारी पनि यसमा जोडिएको छ। यो केवल तीजको कविता होइन, आफ्नो खुसी केही कम गरेर पीडितको घरमा आशाको दीप बाल्न गरिएको मानवीय आह्वान हो।
यस पालिको तीज मनाऔँ कसरी?
यस पालिको तीजमा नाचौँ कसरी,
किनेको रातो सारी लगाऔँ कसरी?
देश पीडामा डुबेको छ,
बारुली कम्मर भाँचौँ कसरी?
जति जति तीज नजिकिँदै आउँछ,
गाउँभरि दुःखको बादल छाउँछ।
भैगो चेली, छिमेकी पीडामा छन्,
तिमी माइत नआऊ है, भनौँ कसरी?
आउँछु भनी जिद्दी गर्यौ भने,
आँगनमा उभिएर कुर्यौ भने,
कसैको घरमा चुलो निभेको बेला
तीजको मीठो दर बनाऔँ कसरी?
कतै बाढीले बस्ती बगाएको छ,
कतै पहिरोले सिन्दूर पुछाएको छ।
घरबार गुमाई रुँदै गरेका सामु
हातमा राता चुरा सजाऔँ कसरी?
कसैकी आमा सन्तान खोज्दै छिन्,
कसैकी चेली माइती रोज्दै छिन्।
आफन्त गुमाई आँसु पिउनेहरू अघि
मादलको तालमा रमाऔँ कसरी?
माइतीको बाटो हेर्ने ती आँखा लाई
नआऊ भनेर सम्झाऔँ कसरी?
वर्षभरि बाटो कुरेकी चेलीलाई
आँगनको ढोका लगाऔँ कसरी?
तीज त केवल नाचगान होइन,
रातो सारी, मीठो खानपान होइन।
दुःखमा परेकाको हात नसमाई
भगवान् को पूजा गरौँ कसरी?
दरका थाल केही कम सजाऔँला,
बचेको गाँस पीडितलाई पुर्याऔँला।
आफ्नो खुसी थोरै बाँड्न नसके
मानवता को धर्म निभाऔँ कसरी?
चुराको झङ्कार प्रार्थना बनोस्,
मादल को ताल सहयोगी धुन बनोस्।
पीडित आँखामा हाँसो नफर्किए सम्म
ओठमा मुस्कान सजाऔँ कसरी?
रातो सारी लगाऊ चेली,
नाच्नै परे दुःख जित्ने साहसमा नाच,
निराश मनमा आशाको दीप बाल।
यसपालि महँगा गहना नकिनौँला,
देखावटी खुसीमा मन नदिऊला।
बचेको पैसाले दुःखी घरमा
निभेको चुलो फेरि बालि दिऊला।
आऊ चेली, माइती आँगनमा आऊ,
दुःखी छिमेकी लाई पनि साथ ल्याऊ।
सबै मिली पीडा बाँड्न सकेपछि
अनि तीजको गीत किन गाऊ?
देश रोएको बेला हामी पनि रोऊला,
घाउमा प्रेम र सहयोग छरौँला।
सबैका मुहारमा हाँसो फर्किए पछि
मन खोलेर तीज मनाऊला।
यस पालिको तीजमा नाचौँ कसरी,
किनेको रातो सारी लगाऔँ कसरी?
देश पीडामा डुबेको छ, आमा,
देशलाई एक्लै छोडी रमाऔँ कसरी?
लेखक: दिल अबिरल




