घर फर्किने बाटो परदेशीले कहिल्यै बिर्सेको हुँदैन।

घर फर्किने बाटो

परदेशीले घर फर्किने बाटो कहिल्यै बिर्सेको हुँदैन।

कहिलेकाहीँ फर्किने इच्छा र फर्किन सक्ने परिस्थितिबीच धेरै वर्षको दूरी रहि दिन्छ।

घरको बाटो बिर्सनलाई त पहिले घर बिर्सिन सक्नुपर्छ।

तर जसको मन अझै पनि आफ्नै आँगनमा अड्किएको छ, जसको सम्झनामा आमा,बुवा को आवाज अझै उस्तै छ, जसले आँखा चिम्लिँदा पनि गाउँको गोरेटो स्पष्ट देख्छ, उसले घर फर्किने बाटो कसरी बिर्सन सक्छ र?

नमस्कार, म दिल अबिरल।

आज म तपाईंसँग एउटा यस्तो मनको कुरा गर्न चाहन्छु, जुन मन हजारौँ किलोमिटर टाढा बसेर पनि हरेक साँझ आफ्नै घर फर्किरहेको हुन्छ।

यो कुनै एक व्यक्तिको कथा होइन यो हरेक प्रदेशी को भोगाई हो ।

यो त आफ्नो उमेरको सबैभन्दा सुन्दर समय परदेशमा बिताइरहेका हजारौँ नेपाली मनहरूको साझा कथा हो।

१. घर छोडेको त्यो बिहान

कहिलेकाहीँ हामि  सोच्ने गर्छौ…

घर छोडेको त्यो बिहान कति सजिलो लागेको थियो!

एउटा झोला थियो। झोलाभित्र केही कपडा, केही कागजपत्र र भविष्यका अनगिन्ती सपनाहरू थिए।

आमाले बाटोमा खानू भनेर झोलामा केही खानेकुरा राखिदिनुभएको थियो।

बुबाले धेरै कुरा गर्नुभएन।

सायद भन्नुपर्ने कुरा धेरै थिए, तर बोल्दा आँसु खस्छ भन्ने डर थियो।

घरको ढोकाबाट बाहिर निस्किँदा  एकपटक पछाडि फर्केर हेरेको त्यो पल ।

आमा ढोकामै उभिएर आखाभरी आसु लिएर उभइएको ।

त्यतिबेला मनमा के लाग्छ  भने , दुई–चार वर्षको त कुरा हो। केही पैसा कमाउँछु, घरको अवस्था सुधार्छु अनि फर्किन्छु।

तर हामि कसैले  एउटा कुरा बुझेकै हुदैन रहेछौ ।

परदेशमा कमाएको पैसा गन्न सकिन्छ, तर त्यसका लागि गुमाएका वर्षहरू गन्न त्यति सजिलो हुँदैन रहेछ भनेर ।

दुई वर्ष भनेर निस्किएको मान्छेलाई कहिले पाँच वर्ष बित्छ, कहिले दस वर्ष पुग्छ, पत्तै हुँदैन।

अनि एकदिन पुरानो तस्बिर हेर्दा मात्र थाहा हुन्छ, आफूले छोडेर आएको घर त उही छ, तर त्यहाँका मानिसहरू बिस्तारै बदलिइ सकेछन्।

२. परदेशको कमाइ र मनको हिसाब

यहाँ बिहान हुन्छ।

काममा जानुपर्छ।

मानिसहरू भेटिन्छन्, कुराकानी हुन्छ। कहिलेकाहीँ हाँसिन्छ पनि।

बाहिरबाट हेर्दा जीवन राम्रै चलिरहेको जस्तो देखिन्छ।

महिनाको अन्त्यमा तलब आउँछ।

घरमा पैसा पठाइन्छ।

कसैको विद्यालयको शुल्क तिरिन्छ। कसैको औषधि किनिन्छ। घरको छानो फेरिन्छ। पुरानो ऋण घटाइन्छ।

घरबाट फोन आउँछ।

“पैसा आयो है, बाबु।”

यो एउटा वाक्य सुन्दा दिनभरिको थकान केही हलुका हुन्छ।

तर फोन राखिसकेपछि मनमा अर्को प्रश्न उठ्छ।

मैले घरमा पैसा त पठाएँ…

तर आफूलाई कहिले पठाउने?

आमा बुवा को औषधिका लागि पैसा पठाउन सक्छु।

तर आमा बुवा  बिरामी हुँदा उहाँको सिरानीमा बसेर निधार छाम्न सक्दिनँ।

छोरा छोरीको पढाइ खर्च पठाउन सक्छु।

तर उनीहरूको विद्यालयको कार्यक्रममा अगाडि बसेर ताली बजाउन सक्दिनँ।

श्रीमतीलाई चाहिएको सामान किन्न सक्छु।

तर  थाकेको साँझ छेउमा बसेर दिनभरिका कुरा सुन्न सधैँ सक्दैनौ ।

यस्तो लाग्छ, परदेशले हामीलाई धेरै कुरा किन्न सक्ने बनायो।

तर पैसाले किन्न नसकिने केही सम्बन्धका पलहरू भने हामीबाट चुपचाप खोस्दै लग्यो।

३. घरबाट आउने त्यो सानो प्रश्न

घरमा फोन गर्दा कहिलेकाहीँ आमाले सोध्नुहुन्छ,

“बाबु, अब कहिले आउँछस् भनेर ?”

तर हामि  हाँस्दै भन्छौ,

“आउँछु नि आमा, अझैँ अलिकति कमाए पछी ।”

आमाले भन्नुहुन्छ,

“पैसा त भोलि पनि कमाइएला, कहिलेकाहीँ घर पनि आइज।”

त्यो वाक्य सुन्दा मन निकै भारी हुन्छ।

किनकि आमालाई सम्झाउन गाह्रो हुन्छ | तेतिखेर यस्तो लाग्छ कि म नफर्किएको घरको माया नभएर त् होइन।

तर यहाँ अझै केही ऋण बाँकी छ।

छोराछोरीको भविष्य सोच्नुपर्छ।

घरको अधुरो काम पूरा गर्नुपर्छ।

फर्किएपछि के गरेर जीवन चलाउने भन्ने उत्तर पनि त खोज्नुपर्छ।

यहा हरेक प्रदेशी लाइ यी सबै जिम्मेवारी छन्।

उता घरमा सानो परिवार  छन । अब पैसा र परिवार यो

दुवैमध्ये कसलाई छोडूँ?

मनले भन्छ, फर्की जा।

परिस्थितिले भन्छ, अझै केही समय बस्।

यही ‘केही समय’ ले जीवनका कति वर्ष खाइसक्यो, त्यसको हिसाब सायद हामी आफैँसँग पनि छैन।

४. छुट्दै गएका जीवनका पलहरू

दिन बित्दै जान्छ घरको परिवार को तस्बिर देखिउन्छ ।

तस्बिरमा बुबाको अनुहार पहिलेभन्दा चाउरिएको देखिन्छ।

आमाको कपाल अझ सेतो भएको हुन्छ।

छोराछोरी आफूले सम्झेको भन्दा अग्ला भइसकेका हुन्छन्।

मनमा अचानक एउटा डर पस्छ।

म घर फर्किँदा के सबै कुरा पहिलेझैँ हुनेछन्?

बुबासँग पहिलेझैँ लामो कुरा गर्न पाइएला?

आमाले पहिलेझैँ ढोकाबाट बोलाउनुहोला?

बाल्यकालमा सँगै हिँड्ने साथीहरूलाई त्यही चौतारीमा भेटिएला?

सायद भेटिएलान्।

सायद नभेटिएलान् पनि ।

किनकि समयले कसैलाई पर्खेर बस्दैन।

हामी परदेशमा भविष्य बनाउँदै गर्दा घरमा कसैको वर्तमान बिस्तारै बितिरहेको हुन्छ।

हामी भोलिका लागि पैसा जम्मा गरिरहेका हुन्छौँ।

उता आमा बुबा भने हामीसँग बिताउन पाउने केही दिनको प्रतीक्षामा हुन्छन ।

कति अनौठो छ है जिन्दगी!

हामी परिवारको सुखका लागि परिवारबाटै टाढा छौँ।

उनीहरूलाई राम्रो जीवन दिन चाहन्छौँ।

तर उनीहरूसँगै बसेर त्यो जीवन बाँड्न सकिरहेका छैनौँ।

५. फर्किने सपना किन पछि सरिरहन्छ?

हामि धेरैपटक सोचने गर्छौ।

अब अर्को वर्ष त् फर्किन्छु।

यति पैसा जम्मा भएपछि फर्किन्छु।

नया घर पूरा भएपछि फर्किन्छु।

बच्चाहरूको पढाइ सहज भएपछि फर्किन्छु।

तर एउटा जिम्मेवारी सकिन नपाउँदै अर्को जिम्मेवारी अगाडि आइपुग्छ।

प्रदेशीको जीवन पनि कस्तो रहेछ!

हामीले बनाएका योजना भन्दा धेरै छिटो जिम्मेवारीहरू बढ्दै जाने।

कहिले कहिँ  मनमनै हिसाब हुन्छ ।

पैसा पहिलेभन्दा केही बढेको छ।

घरको अवस्था पनि सुध्रिएको छ।

तर ऐनामा हेर्दा आफ्नै अनुहारमा उमेरका रेखाहरू थपिएका छन्।

पहिले जुन सपना पूरा गर्न परदेश आएको हुन्छौ, आज त्यो सपना पूरा गर्ने दौडमै अर्को सपना अधुरो छोडिरहेको छौ ।

त्यो सपना हो, आफ्नै घरमा बसेर सामान्य जीवन बाँच्ने।

बिहान आफ्नै आँगनमा घाम ताप्ने।

परिवारसँगै बसेर चिया पिउने।

बुबासँग पुराना कुरा गर्ने।

आमाले पकाएको खाना खाने।

साँझ छोरा छोरी को कुरा सुन्ने।

र राति सुत्दा भोलि फेरि कसैलाई छोडेर जानुपर्छ कि भन्ने चिन्ता नहुने।

कुनै ठूलो महल चाहिएको होइन।

कुनै असाधारण सुख चाहिएको होइन।

चाहिएको त केवल आफ्ना मानिससँग बिताउने केही निश्चिन्त पलहरू हुन्।

तर कहिलेकाहीँ मानिसले खोजेको सबैभन्दा सामान्य खुसी नै सबैभन्दा महँगो पर्दोरहेछ।

६. परदेशीको मौन पीडा

सबै परदेशी दुःखी छन् भन्ने होइन।

कसैले राम्रो अवसर पाएका छन्।

कसैले नयाँ जीवन बनाएका छन्।

कसैका परिवार पनि सँगै छन्।

र कसैले यही परदेशलाई आफ्नो दोस्रो घर बनाइसकेका छन्।

तर परदेशमा खुसी सँग बाँचिरहेको मानिस को मनमा पनि जन्म थलो को एउटा सानो कुना सुरक्षित रहन सक्छ।

त्यहाँ पुराना सम्झनाहरू हुन्छन्।

बाल्यकालका साथीहरू हुन्छन्।

माटोको गन्ध हुन्छ।

आफ्नो नाम बोलाउने परिचित आवाजहरू हुन्छन्।

ती सम्झनाहरू हरेक दिन आउँदैनन्।

तर जब आउँछन्, एकैपटक धेरै कुरा सम्झाइ दिन्छन्।

कहिले काहीँ कामबाट फर्किएर एक्लै कोठामा बस्दा अचानक गाउँ सम्झिन्छौ।

कुनै गीतले पुरानो समय सम्झाइदिन्छ।

कसैले घर परिवार का कुरा गर्दा आफ्नो घर सम्झिन्छौ।

अनि फोन उठाएर घरमा कुरा गर्न मन लाग्छ।

तर घडी हेर्दा अबेर भएको हुन्छ ।

मन मनै सोच्छौ सायद घरमा सबै सुतिसकेका होलान्।

अनि फोन नगरी फेरि राखिदिन्छौ।

यस्तो बेला मनमा एउटा कुरा खेलिरहन्छ।

घर भनेको फर्किनका लागि भएको ठाउँ मात्र होइन रहेछ। घर त मानिस थाक्दा मनले खोज्ने पहिलो आश्रय पनि त् रहेछ।

७. घर फर्किने दिन

हामीलाई थाहा छैन, म कहिले स्थायी रूपमा घर फर्किनेछु भनेर ।

सायद अर्को वर्ष।

सायद अझ केही वर्षपछि।

तर एउटा कुरा भने  थाहा हुन्छ ।

त्यो दिन घर फर्किँदा ठूलो उपलब्धिको सूची बोकेर फर्किनु आवश्यक छैन भनेर ।

मेरा सबै सपनाहरू पूरा भइसकेका हुनुपर्छ भन्ने पनि छैन।

किनकि जीवनका सबै जिम्मेवारी पूरा गरेर मात्र बाँच्न थाल्छु भन्ने हो भने, बाँच्ने समय नै बाँकी नरहन सक्छ।

कहिलेकाहीँ अधुरै काम छोडेर पनि आफ्ना मानिसलाई भेट्न जानु पर्ने रहेछ ।

किनकि पैसा फेरि कमाउन सकिन्छ।

काम फेरि सुरु गर्न सकिन्छ।

तर बितिसकेको समय फर्काउन सकिँदैन।

आमा बुबाको उमेर रोक्न सकिँदैन।

छोरा छोरीको बाल्यकाल फेरि ल्याउन सकिँदैन।

त्यसैले आजकल म एउटा कुरा सोच्ने गर्छु।

जीवनको सफलता भनेको कति कमाइयो भन्ने मात्र होइन रहेछ।

कमाएको पैसाले कसको जीवनमा खुसी ल्यायो, र त्यो खुसीमा आफू कति सहभागी हुन सकियो भन्ने पनि रहेछ।

अन्तिम मनको कुरा

प्रिय परदेशी साथीहरू,

यदि तपाईं पनि घर फर्किने सपना बोकेर वर्षौँदेखि परदेशमा हुनुहुन्छ भने, आफ्नो मनलाई कहिलेकाहीँ सोध्नुहोस्।

म जेका लागि यति धेरै दौडिरहेको छु, के त्यो दौडले मलाई आफ्ना मानिसको नजिक पुर्‍याइरहेको छ, कि अझ टाढा बनाइरहेको छ?

आजै फर्किने परिस्थिति नहोला।

अझै केही जिम्मेवारी बाँकी होलान्।

तर घर फर्किने दिनको प्रतीक्षा गर्दागर्दै घरसँगको सम्बन्ध नै टाढा हुन नदिनुहोस्।

समय मिल्दा फोन गर्नुहोस्।

सम्भव भए केही दिनका लागि भए पनि भेट्न जानुहोस्।

आफ्ना मानिसलाई पैसा मात्र होइन, आफ्नो समय र माया पनि दिनुहोस्।

किनकि एकदिन घर फर्किने बाटोमा हिँड्दा हाम्रो हातमा कमाइको हिसाब त होला…

तर मनले खोजेको मान्छे त्यही ठाउँमा, त्यही उमेरमा, त्यही अवस्थामा पर्खिरहेको हुन्छ भन्ने निश्चित हुदैन ।

र अन्त्यमा…

परदेशीले घर फर्किने बाटो कहिल्यै बिर्सेको हुँदैन।

उसले त केवल आफ्नो मनलाई सम्झाइरहेको हुन्छ,

“अझै केही दिन… अझै केही समय…”

तर ती केही दिनहरूले नै कहिलेकाहीँ आधा जिन्दगी बिताइदिन्छन्।

घर पुग्नका लागि बाटो लामो भएको होइन रहेछ।

घर फर्किने निर्णयसम्म पुग्न नै जीवनका धेरै वर्ष लाग्दा रहेछन्।

म दिल अबिरल।

तपाईं सुन्दै हुनुहुन्थ्यो, प्रदेशी को कथा ।

शब्दमा जीवन, जीवनमा कथा। मन परे like share गरेर सम्झनुहोस धन्यबाद

आफ्नै मान्छेसँग किन बढी मन दुख्छ? सम्बन्ध, अपेक्षा र स्वीकारको कथा

आफ्नै मान्छेसँग किन बढी मन दुख्छ? सम्बन्ध, अपेक्षा र स्वीकारको कथा

कहिलेकाहीँ एउटा सानो कुराले पनि मन असाध्यै भारी बनाइदिन्छ।

दिनभरि धेरै मानिससँग भेट हुन्छ। कसैले फोन गर्दैन, कसैले सन्देश पठाउँदैन। हामीलाई खासै फरक पर्दैन।

तर त्यही दिन एउटा विशेष मानिसको फोन आएन भने मनमा अनेक प्रश्न उठ्न थाल्छन्।

“किन फोन गरेन?”

“व्यस्त थियो कि मलाई सम्झिएन?”

“मलाई मात्रै उसको याद आउँछ कि उसलाई पनि मेरो याद आउँछ?”

अपरिचित मानिसले हाम्रो जन्मदिन बिर्सियो भने हामी हाँसेर छोड्न सक्छौँ। तर आफूले अत्यन्त नजिक मानेको मानिसले त्यही दिन बिर्सियो भने मनको कुनै कुनामा एउटा आवाज उठ्छ,

“उसलाई मेरो वास्ता नै छैन र?”

घटना उही हो, कसैले सम्झिएन।

तर चोट फरक छ।

किनकि चोट केवल व्यवहारबाट आएको हुँदैन। त्यो व्यवहारसँग जोडिएको अपेक्षाबाट पनि आएको हुन्छ।

यहीँबाट एउटा गम्भीर प्रश्न जन्मिन्छ।

हामीलाई वास्तवमा चोट मानिसले दिन्छ कि उसबाट राखेको अपेक्षाले?

अपेक्षा कहाँबाट जन्मिन्छ?

हामी प्रत्येक मानिससँग एउटै व्यवहारको अपेक्षा गर्दैनौँ।

बाटोमा भेटिएको अपरिचित व्यक्तिबाट हामीलाई माया, समय, साथ वा सम्झनाको अपेक्षा हुँदैन। त्यसैले उसले केही नगर्दा हामीलाई धेरै असर पनि पर्दैन।

तर सम्बन्ध नजिकिँदै जाँदा अपेक्षा पनि विस्तारै जन्मिन्छ।

कसैले हामीलाई पटकपटक फोन गर्छ।

हाम्रो दुःख सुन्छ।

सानो कुरासमेत सम्झन्छ।

हामी बिरामी हुँदा सोध्छ।

हामी थाक्दा बुझ्छ।

बिस्तारै हाम्रो मनले एउटा विश्वास बनाउँछ,

“यो मानिस मेरो हो।”

त्यसपछि प्रेमसँगै एउटा नदेखिने सूची पनि बन्न थाल्छ।

उसले मलाई सम्झियोस्।

मेरो दुःख बुझोस्।

मेरो आवश्यकता नबोली बुझोस्।

मलाई अरूभन्दा अलि विशेष व्यवहार गरोस्।

समस्या अपेक्षा जन्मिनुमा होइन। नजिकको सम्बन्धमा केही अपेक्षा हुनु स्वाभाविक हो।

समस्या त्यतिबेला सुरु हुन्छ, जब हामीले मनभित्र बनाएको अपेक्षा अर्को मानिसले थाहा नपाईकन पूरा गर्नुपर्ने नियम बनिदिन्छ।

हामी भन्छौँ,

“मैले त भन्नै परेन नि, उसले आफैँ बुझ्नुपर्थ्यो।”

तर अर्को मानिसको मनभित्र हाम्रो मनजस्तै विचार चलिरहेको हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन।

प्रेम र अपेक्षा सँगसँगै हिँड्छन्

हामी प्रायः भन्छौँ,

“साँचो प्रेममा कुनै अपेक्षा हुँदैन।”

यो कुरा सुन्दा सुन्दर लाग्छ। तर वास्तविक जीवनमा पूर्ण रूपमा अपेक्षारहित सम्बन्ध बनाउन सजिलो छैन।

आमाबुबाले छोराछोरीबाट प्रेम चाहन्छन्।

छोराछोरीले आमाबुबाबाट साथ चाहन्छन्।

श्रीमान् श्रीमतीले एकअर्काबाट विश्वास, सम्मान र समय चाहन्छन्।

साथीले साथीबाट आवश्यकता पर्दा साथको आशा राख्छ।

यी सबै अपेक्षा हुन्।

र यी सबै गलत होइनन्।

बरु कतिपय अपेक्षाले सम्बन्धलाई अर्थ दिन्छन्।

यदि प्रेम छ भने ध्यानको चाहना हुन्छ।

यदि अपनत्व छ भने सम्झनाको अपेक्षा हुन्छ।

यदि विश्वास छ भने इमानदारीको अपेक्षा हुन्छ।

यदि सम्बन्ध छ भने सम्मानको अपेक्षा हुन्छ।

त्यसैले समस्या अपेक्षा हुनु होइन, अपेक्षाको सीमा नबुझ्नु हो।

प्रेमले मानिसलाई जोड्छ।

तर अत्यधिक अपेक्षाले त्यही प्रेमलाई परीक्षा बनाउन सक्छ।

आफ्नै मानिसबाट किन बढी चोट लाग्छ?

कारण सरल छ।

जहाँ मन लगाइएको हुन्छ, त्यहीँ चोट लाग्ने ठाउँ पनि धेरै हुन्छ।

अपरिचित मानिसले हाम्रो कमजोरी नबुझ्दा फरक पर्दैन। तर आफ्नो मानिसले नबुझ्दा पीडा हुन्छ।

बाहिरको मानिसले साथ नदिँदा हामी भन्छौँ,

“उसको के मतलब?”

तर आफ्नै मानिसले साथ नदिँदा प्रश्न अर्कै हुन्छ,

“तिमी पनि?”

यो “तिमी पनि?” भन्ने दुई शब्दभित्र सम्बन्धको ठूलो कथा लुकेको हुन्छ।

त्यहाँ विश्वास हुन्छ।

त्यहाँ विगत हुन्छ।

त्यहाँ साझा सम्झना हुन्छ।

त्यहाँ दिएको समय हुन्छ।

त्यहाँ गरेको त्याग हुन्छ।

र त्यहाँ एउटा विश्वास हुन्छ कि संसारले नबुझे पनि यो मानिसले मलाई बुझ्नेछ।

जब यही विश्वासमा धक्का लाग्छ, चोट केवल त्यो क्षणको हुँदैन। पुराना सम्झना, पुराना वाचा र पुराना विश्वाससमेत त्यससँग जोडिएर आउँछन्।

त्यसैले कहिलेकाहीँ सानो घटनाले पनि ठूलो आँधी ल्याउँछ।

फोन नगर्नु केवल फोन नगर्नु हुँदैन।

त्यसको अर्थ हाम्रो मनले बनाउँछ,

“सायद म अब महत्त्वपूर्ण छैन।”

सन्देशको उत्तर नदिनु केवल ढिलो उत्तर होइन।

मनले अर्थ लगाउँछ,

“सायद ऊ मबाट टाढिँदै छ।”

जन्मदिन बिर्सिनु केवल मिति बिर्सिनु हुँदैन।

मनले भन्छ,

“सायद मलाई सम्झन योग्य ठानेन।”

यही अर्थहरूले चोटलाई ठूलो बनाउँछन्।

कहिलेकाहीँ घटना सानो हुन्छ, हाम्रो अर्थ ठूलो हुन्छ

सम्बन्धमा सबैभन्दा कठिन कुरा यही हो।

हामीले देखेको व्यवहार र त्यस व्यवहारको वास्तविक कारण सधैँ एउटै हुँदैन।

कसैले फोन गरेन।

हामी सोच्यौँ, “उसलाई वास्ता छैन।”

तर ऊ आफ्नै समस्यामा हुन सक्छ।

कसैले धेरै बोल्न छोड्यो।

हामी सोच्यौँ, “ऊ बदलियो।”

तर ऊ मानसिक रूपमा थाकेको हुन सक्छ।

कसैले हाम्रो जन्मदिन बिर्सियो।

हामीले सोच्यौँ, “मेरो मूल्य छैन।”

तर ऊ साँच्चै मिति सम्झन नसकेको हुन सक्छ।

यसको अर्थ हरेक चोटलाई बहाना दिएर सहनुपर्छ भन्ने होइन।

बारम्बार बेवास्ता, अपमान, झूट वा एकतर्फी सम्बन्धलाई “उसको परिस्थिति होला” भनेर अनन्तसम्म स्वीकार गर्नु पनि स्वस्थ सम्बन्ध होइन।

तर निष्कर्षमा पुग्नुअघि कारण बुझ्ने प्रयास गर्नु धेरै सम्बन्ध बचाउने एउटा सानो तर महत्त्वपूर्ण उपाय हो।

अपेक्षा पूर्ण रूपमा त्याग्न सकिन्छ?

सायद सकिँदैन।

र सधैँ त्याग्नुपर्ने पनि होइन।

सम्बन्धमा केही आधारभूत अपेक्षा उचित हुन्छन्।

सम्मान।

इमानदारी।

विश्वास।

सुरक्षा।

संवाद।

एकअर्काको भावनाको कदर।

यी कुरा माग्नु स्वार्थ होइन।

तर अर्को मानिसले सधैँ हाम्रो मनअनुसार व्यवहार गरोस्, हामीलाई सधैँ प्राथमिकता देओस्, हाम्रो मनको कुरा हामीले नबोली बुझोस् र कहिल्यै गल्ती नगरोस् भन्ने अपेक्षा भने सम्बन्धका लागि भारी हुन सक्छ।

कहिलेकाहीँ हामी मानिसलाई प्रेम गर्नुभन्दा उसबाट बनाएको कल्पनालाई प्रेम गरिरहेका हुन्छौँ।

हाम्रो मनमा उसको एउटा रूप हुन्छ।

“ऊ यस्तो हुनुपर्छ।”

“उसले यस्तो गर्नुपर्छ।”

“उसले मलाई यसरी बुझ्नुपर्छ।”

तर वास्तविक मानिस हाम्रो कल्पनाभन्दा फरक हुन्छ।

ऊ थाक्छ।

ऊ बिर्सिन्छ।

ऊ गलत बुझ्छ।

ऊ कहिलेकाहीँ आफैँसँग संघर्ष गरिरहेको हुन्छ।

स्वीकार भनेको सबै गल्ती सहनु होइन।

स्वीकार भनेको मानिसलाई पूर्ण नभएको वास्तविकतासहित हेर्न सिक्नु हो।

नबोलेको अपेक्षाले धेरै सम्बन्ध तोड्छ

सम्बन्धमा एउटा सामान्य समस्या छ।

हामी चाहन्छौँ अर्को मानिसले आफैँ बुझोस्।

श्रीमती सोच्न सक्छिन्,

“यति वर्ष सँगै बसेपछि मैले के चाहन्छु उसले बुझ्नुपर्दैन?”

श्रीमान् सोच्न सक्छन्,

“म परिवारका लागि यति गरिरहेको छु, उसले आफैँ बुझ्नुपर्छ।”

साथी सोच्न सक्छ,

“साँचो साथी भए मैले बोलाउनु नै किन पर्थ्यो?”

तर मन पढ्ने क्षमता कसैसँग हुँदैन।

कहिलेकाहीँ हामी आफैँले स्पष्ट नबताएको अपेक्षा पूरा नभएको कारण अर्को मानिसलाई दोष दिइरहेका हुन्छौँ।

“तिमीले मलाई समय दिँदैनौ” भन्नुभन्दा,

“तिमीसँग केही समय शान्त भएर कुरा गर्न मन छ” भन्न सकिन्छ।

“तिमीलाई मेरो वास्ता छैन” भन्नुभन्दा,

“म गाह्रो अवस्थामा हुँदा तिमीले एकपटक सोध्दा मलाई धेरै साथ महसुस हुन्छ” भन्न सकिन्छ।

यी दुई वाक्यको भाव लगभग एउटै हो।

तर परिणाम फरक हुन सक्छ।

पहिलो वाक्य आरोप हो।

दोस्रो वाक्य भावना हो।

आरोप सुन्दा मानिस आफूलाई बचाउन थाल्छ।

भावना सुन्दा मानिस बुझ्ने सम्भावना बढ्छ।

सम्बन्ध बचाउने संवाद कस्तो हुन्छ?

स्पष्ट संवाद भनेको झगडा गर्नु होइन।

आफ्नो मनको कुरा सम्मानपूर्वक भन्नु हो।

कहिलेकाहीँ एउटा सामान्य वाक्यले महिनौँदेखि जम्मा भएको भ्रम हटाउन सक्छ।

“त्यो दिन तिमीले फोन नगर्दा मलाई नराम्रो लागेको थियो।”

यति भन्नु पर्याप्त हुन सक्छ।

त्यसपछि अर्को मानिसले भन्न सक्छ,

“मलाई थाहा नै थिएन तिमीले यसलाई यति गम्भीर रूपमा लिएका छौ।”

सायद समस्या प्रेमको कमी थिएन।

समस्या जानकारीको कमी थियो।

हामी धेरै सम्बन्धमा प्रेम हुँदाहुँदै पनि संवादको कमीले टाढिन्छौँ।

दुवै मानिस मनभित्र प्रेम राखेर बस्छन्।

तर दुवैलाई लाग्छ अर्को मानिसले वास्ता गर्न छोड्यो।

सम्बन्ध कहिलेकाहीँ ठूलो विश्वासघातले होइन, सानो-सानो नबोलेका कुराले कमजोर हुँदै जान्छ।

अपेक्षा कम गर्नु भनेको प्रेम कम गर्नु होइन

यो फरक बुझ्न महत्त्वपूर्ण छ।

अपेक्षा सन्तुलित गर्नु भनेको “अब कसैबाट केही चाहन्नँ” भनेर कठोर बन्नु होइन।

बरु यसको अर्थ हो,

म तिमीलाई प्रेम गर्छु, तर तिमी पनि मानिस हौ भन्ने बुझ्छु।

म तिमीसँग समय चाहन्छु, तर तिम्रो आफ्नै जीवन पनि छ भन्ने बुझ्छु।

म तिमीबाट इमानदारी चाहन्छु, तर तिमी सधैँ मेरो सोचअनुसार व्यवहार गर्नुपर्छ भन्ने छैन।

म तिमीसँग सम्बन्ध राख्छु, तर मेरो सम्पूर्ण खुशीको जिम्मा तिमीलाई दिँदिनँ।

यही बिन्दुमा प्रेम परिपक्व हुन थाल्छ।

जहाँ सम्बन्ध अधिकारभन्दा समझदारीमा बदलिन्छ।

जहाँ “तिमीले मेरो लागि के गर्यौ?” भन्दा “हामी एकअर्कालाई कसरी बुझ्न सक्छौँ?” भन्ने प्रश्न ठूलो हुन्छ।

कहिलेकाहीँ चोटले हामीलाई आफ्नै मन पनि देखाउँछ

कसैको व्यवहारले हामीलाई धेरै चोट दियो भने कहिलेकाहीँ अर्को प्रश्न पनि सोध्नुपर्छ,

“म वास्तवमा किन यति दुखेँ?”

सायद त्यो मानिसको व्यवहार मात्र कारण थिएन।

सायद हाम्रो पुरानो डर पनि जोडिएको थियो।

छोडिने डर।

महत्त्वहीन हुने डर।

एक्लो हुने डर।

माया गुमाउने डर।

कहिलेकाहीँ वर्तमानको एउटा घटना विगतको पुरानो घाउसँग जोडिन्छ।

त्यसैले सम्बन्ध बुझ्नु भनेको अर्को मानिसलाई मात्र बुझ्नु होइन।

आफ्नो मनलाई पनि बुझ्नु हो।

अन्त्यमा

जीवनमा सबैभन्दा गहिरो चोट प्रायः अपरिचितले दिँदैन।

आफ्नै मानिससँग जोडिएको विश्वास, अपनत्व र अपेक्षाले त्यो चोटलाई गहिरो बनाउँछ।

तर यसको अर्थ प्रेम गर्नु गलत हो भन्ने होइन।

अपेक्षा राख्नु पनि गलत होइन।

सम्बन्धको सुन्दरता नै यही हो कि हामी कसैलाई आफ्नो ठान्छौँ।

तर सायद परिपक्व प्रेमले हामीलाई एउटा कुरा सिकाउँछ,

आफ्नो मानिसबाट अपेक्षा राख्नुस्, तर उसलाई आफ्नो कल्पनाको पात्र नबनाउनुस्।

उसलाई बुझ्ने प्रयास गर्नुस्।

आफ्नो आवश्यकता बोल्नुस्।

नबुझेको कुरा सोध्नुस्।

गल्ती र बेवास्ताबीचको फरक छुट्याउनुस्।

र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो सम्पूर्ण खुशीको जिम्मा अर्को मानिसको हातमा नदिनुस्।

किनकि सम्बन्धमा कहिलेकाहीँ चोट मानिसले दिन्छ।

कहिलेकाहीँ परिस्थितिले दिन्छ।

र कहिलेकाहीँ हामीले मनभित्र बनाएको त्यो नबोलेको वाक्यले दिन्छ,

“उसले त यति बुझ्नै पर्थ्यो।”

सायद सम्बन्धलाई बचाउने सुरुवात यहीँबाट हुन्छ,

अपेक्षा समाप्त गरेर होइन,

अपेक्षालाई बुझेर, बोलेर र स्वीकारसँग सन्तुलित गरेर।

अन्ततः प्रश्न यो होइन कि हामीले आफ्ना मानिसबाट केही अपेक्षा राख्ने कि नराख्ने।

प्रश्न यो हो,

“हामी प्रेममा मानिसलाई स्वीकार गरिरहेका छौँ, कि उसलाई आफ्नो अपेक्षाअनुसार बदल्न खोजिरहेका छौँ?”

दिल अविरल कथा जिन्दगिको

म व्यस्त थिएँ, तर केका लागि?

म व्यस्त थिएँ, तर केका लागि?

सफलता र जीवनको बीचमा हराएको एउटा कथा

बिहान मोबाइलको अलाराम  बज्नु अघि नै उसको आँखा खुल्थ्यो। निद्रा पूरा भएको भएर होइन, आज गर्नुपर्ने कामहरूको सूची सम्झिएर। उठ्नेबित्तिकै मोबाइल हेर्थ्यो। केही सन्देश, केही इमेल र छुटेका फोनहरू। त्यसपछि हतार हतार तयार भएर कामतिर निस्कन्थ्यो।

घरबाट निस्कँदा छोरी सुतिरहेकी हुन्थी। श्रीमतीले कहिले काहीँ भन्थिन्, “आज अलि छिटो आउनुहोस् है।”

ऊ सधैँ एउटै उत्तर दिन्थ्यो, “कोसिस गर्छु।”

तर त्यो ‘आज’ कहिल्यै आएन।

ऊ असल श्रीमान् बन्न चाहन्थ्यो, जिम्मेवार बुबा बन्न चाहन्थ्यो र परिवार लाई अभाव हुन नदिने सपना देख्थ्यो। त्यसैले दिनरात मेहनत गर्थ्यो। उसलाई लाग्थ्यो, अहिले केही वर्ष दुःख गरेपछि जीवन सजिलो हुनेछ। अहिले समय दिन नसके पनि भविष्यमा परिवारसँग धेरै समय बिताउनेछ।

तर भविष्य नजिक आउनुको सट्टा सधैँ केही पर सर्दै गइरहेको थियो।

सफलताको पछाडि दौडिएको मानिस

उसको यात्रा खाली हातबाट सुरु भएको थियो। जीवनमा धेरै अभाव देखेकाले ऊ आफ्ना सन्तानले त्यही अभाव भोग्न नपरोस् भन्ने चाहन्थ्यो। त्यसैले काम उसको आवश्यकता मात्रै रहेन, बिस्तारै पहिचान बन्यो।

कमाइ बढ्दै गयो। पहिले भाडाको एउटा सानो कोठा थियो, पछि राम्रो घर भयो। सार्वजनिक यातायातमा हिँड्ने ऊ आफ्नै गाडी चढ्न थाल्यो। बैंक खातामा बचत बढ्यो। समाजले उसलाई सफल भन्न थाल्यो।

तर ऊभित्र कतै एउटा खाली ठाउँ पनि बढ्दै थियो।

उसले घर बनायो, तर घरभित्रका मानिससँग बसेर कुरा गर्ने समय पाएन। गाडी किन्यो, तर परिवारलाई लिएर कतै घुम्न जाने फुर्सद भएन। बच्चाहरूका लागि महँगा सामान ल्यायो, तर उनीहरूको बाल्यकाल आफ्नै आँखाअगाडि बितिरहेको देख्न सकेन।

ऊ व्यस्त थियो। यति व्यस्त कि आफू किन दौडिरहेको छ भन्ने प्रश्न सोध्ने समयसमेत उससँग थिएन।

“बुबा, तपाईं कहिले खाली हुनुहुन्छ?”

एक साँझ ऊ निकै ढिलो घर फर्कियो। खाना टेबलमा छोपेर राखिएको थियो। श्रीमती सुतिसकेकी थिइन्। छोरी भने सोफामा उसलाई पर्खँदै निदाएकी रहिछ।

उसले छोरीलाई उठाएर कोठामा लैजान खोज्दा छोरीको हातबाट कागजको एउटा पाना खस्यो। त्यो विद्यालयमा बनाइएको पारिवारिक चित्र थियो। चित्रमा आमा र छोरी हात समातेर उभिएका थिए। छेउमा एउटा घर थियो। आकाशमा घाम थियो। तर चित्रमा बुबा थिएनन्।

उसले भोलिपल्ट छोरीलाई सोध्यो, “चित्रमा मलाई किन नबनाएको?”

छोरीले सरल उत्तर दिई, “तपाईं त सधैँ काममा हुनुहुन्छ नि।”

त्यो उत्तरमा कुनै गुनासो थिएन। तर त्यही निर्दोष वाक्यले उसलाई भित्रैदेखि हल्लायो।

छोरीले फेरि सोधी, “बुबा, तपाईं कहिले खाली हुनुहुन्छ?”

ऊसँग त्यसको उत्तर थिएन।

उसले परिवारका लागि काम गरिरहेको थियो, तर त्यही परिवारको जीवनबाट आफू बिस्तारै हराउँदै गएको थियो।

व्यस्तता र अर्थपूर्ण जीवन एउटै होइनन्

हामीमध्ये धेरैको जीवन पनि त्यही मानिसको जस्तै छ। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म हामी केही न केही गरिरहेका हुन्छौँ। कमाउने, बचत गर्ने, घर बनाउने, ऋण तिर्ने, भविष्य सुरक्षित गर्ने र अरूभन्दा अगाडि बढ्ने प्रयासमा समय बिताइरहेका हुन्छौँ।

व्यस्त हुनु नराम्रो होइन। मेहनत, जिम्मेवारी र प्रगति जीवनका महत्त्वपूर्ण पक्ष हुन्। समस्या त्यतिबेला सुरु हुन्छ, जब हामी व्यस्ततालाई नै सफलता सम्झन्छौँ।

दिनभरि काम गर्नु उपलब्धि हुन सक्छ, तर त्यो कामले हामीलाई कहाँ पुर्‍याइरहेको छ भन्ने थाहा नहुनु दुःखद हो। धेरै कमाउनु सफलता हुन सक्छ, तर त्यो कमाइका लागि स्वास्थ्य, सम्बन्ध, शान्ति र परिवार गुमाउनु कस्तो सफलता हो?

हामी पात्रोमा बैठकका लागि समय छुट्याउँछौँ, तर आमाबुबासँग कुरा गर्ने समय छुट्याउँदैनौँ। ग्राहकको फोन तुरुन्त उठाउँछौँ, तर आफ्नै सन्तानले बोलाउँदा “एकछिन पर्ख” भन्छौँ। सामाजिक सञ्जालमा सयौँ मानिससँग जोडिएका हुन्छौँ, तर एउटै घरमा बसेका मानिसहरूको मन बुझ्न सकिरहेका हुँदैनौँ।

सायद हामी समयको अभावमा होइन, प्राथमिकताको अन्योलमा बाँचिरहेका छौँ।

सफलता देखिन्छ, छुटेको जीवन देखिँदैन

सफलताको एउटा समस्या छ। यसले हामीले प्राप्त गरेका कुरा देखाउँछ, तर त्यसका लागि गुमाएका कुरा देखाउँदैन।

नयाँ घर सबैले देख्छन्, तर त्यो घर बनाउन छुटेका पारिवारिक क्षण कसैले देख्दैन। बढेको बैंक ब्यालेन्स देखिन्छ, तर घटेको स्वास्थ्य देखिँदैन। उच्च पद देखिन्छ, तर मनभित्र बढेको तनाव र एक्लोपन देखिँदैन।

समाजले हाम्रो परिणाम हेर्छ। जीवनले भने त्यसको मूल्य सोध्छ।

कहिलेकाहीँ हामी भविष्य सुरक्षित बनाउने नाममा वर्तमानलाई पूर्ण रूपमा त्यागिदिन्छौँ। हामी भन्छौँ, “अहिले अलि व्यस्त छु, पछि आराम गर्छु।” तर त्यो ‘पछि’ कहिले आउँछ भन्ने निश्चित हुँदैन।

छोराछोरी सधैँ साना रहँदैनन्। आमाबुबा सधैँ पर्खिरहँदैनन्। शरीर सधैँ स्वस्थ रहँदैन। प्रेम पनि बेवास्ताबीच सधैँ उस्तै रहँदैन।

समय बितेपछि पैसा फेरि कमाउन सकिन्छ। तर छुटेको बाल्यकाल, आमाको प्रतीक्षा, बुबासँग गर्न नसकेको संवाद र आफ्ना मानिससँग बिताउन नपाएको समय किनेर फर्काउन सकिँदैन।

एउटा अप्रत्याशित विश्राम

एकदिन अत्यधिक थकानका कारण ऊ काममै बेहोस भयो। अस्पतालमा जाँच गर्दा ठूलो रोग त देखिएन, तर चिकित्सकले भने, “शरीर मेसिन होइन। यसलाई पनि आराम, निद्रा र आफ्ना मानिसहरूको साथ चाहिन्छ।”

अस्पतालको शय्यामा पल्टँदा पहिलोपटक उसले जीवनलाई टाढाबाट हेर्ने मौका पायो।

उसले आफैँलाई सोध्यो:

“म यति धेरै व्यस्त थिएँ, तर केका लागि?”

उत्तर स्पष्ट थियो, “परिवारका लागि।”

तर अर्को प्रश्न झन् गहिरो थियो:

“यदि परिवारकै लागि थिएँ भने परिवारसँग कहिले बाँचेँ?”

उसले बुझ्यो, आफूले कमाएको धेरै थियो, तर अनुभव गरेको थोरै। उसले परिवारका लागि सुविधा जम्मा गर्‍यो, तर सम्झना बनाउन बिर्सियो। भविष्यलाई सुन्दर बनाउने प्रयासमा वर्तमानलाई रित्तो बनाइरहेको थियो।

सन्तुलन भनेको सपना छोड्नु होइन

जीवन रोज्ने कुरा गर्दा कतिपयलाई लाग्न सक्छ, अब महत्त्वाकाङ्क्षा छोड्नुपर्छ, काम कम गर्नुपर्छ वा प्रगतिबाट टाढा बस्नुपर्छ। तर सन्तुलनको अर्थ सपना त्याग्नु होइन।

सन्तुलन भनेको सफलताको परिभाषामा पैसा र पदसँगै स्वास्थ्य, सम्बन्ध, समय र मनको शान्तिलाई पनि राख्नु हो।

परिवारसँग बसेर खाएको साधारण खाना पनि जीवनको उपलब्धि हुन सक्छ। छोरीको कुरा ध्यान दिएर सुन्नु, श्रीमतीसँग केही समय हिँड्नु, आमाबुबालाई फोन गर्नु, साथीको दुःखमा उपस्थित हुनु र कहिलेकाहीँ आफ्नै मनसँग चुपचाप बस्नु पनि अर्थपूर्ण जीवनका हिस्सा हुन्।

हामीले काम गर्नु आवश्यक छ। तर काम गर्दै गर्दा जीवन पनि बाँच्नुपर्छ। भविष्यका लागि बचत गर्नुपर्छ, तर वर्तमानका सुन्दर क्षणहरू खर्च गर्न डराउनु हुँदैन।

अन्तिम प्रश्न

त्यस घटनापछि उसले जागिर छोडेन। जिम्मेवारीबाट भागेन। उसले केवल आफ्नो समयको अर्थ बदल्यो।

अब ऊ सकेसम्म साँझको खाना परिवारसँग खान्थ्यो। छोरीको विद्यालय कार्यक्रममा उपस्थित हुन्थ्यो। कहिलेकाहीँ मोबाइल बन्द गरेर परिवारसँग बाहिर निस्कन्थ्यो। काम अझै थियो, लक्ष्य अझै थिए, तर अब उसको जीवनमा आफ्ना मानिसहरूका लागि पनि ठाउँ थियो।

एकदिन छोरीले फेरि पारिवारिक चित्र बनाई। यसपटक चित्रमा आमा, छोरी र बुबा तीनैजना थिए।

सायद जीवन परिवर्तन गर्न सधैँ ठूलो निर्णय चाहिँदैन। कहिलेकाहीँ एउटा सानो प्रश्न नै पर्याप्त हुन्छ:

“म व्यस्त त छु, तर केका लागि?”

यदि हाम्रो व्यस्तताले हामीलाई आफ्नै मानिसबाट टाढा बनाइरहेको छ, स्वास्थ्य खोसिरहेको छ र मनको शान्ति समाप्त गरिरहेको छ भने एकपटक रोकिनु आवश्यक छ।

किनकि अन्त्यमा जीवनले हामी कति व्यस्त थियौँ भनेर सोध्ने छैन। जीवनले सोध्नेछ, हामीले पाएको समय कसलाई दियौँ, कसलाई माया गर्‍यौँ र आफ्नो उपस्थितिले कसको जीवन अलिकति सुन्दर बनायौँ।

सफलता जीवनको एउटा हिस्सा हो। सफलता नै सम्पूर्ण जीवन होइन। … दिल अविरल

नपाए को खोज्दा खोज्दै, पाएको गुमाइ रहेका त छैनौँ?

नपाए को खोज्दा खोज्दै, पाएको गुमाइ रहेका त छैनौँ?

कसैलाई आफ्नै घर चाहिएको छ। वर्षौँदेखि भाडाको कोठामा बसेको मानिसले सोचि रहेको हुन्छ, सानै भए पनि आफ्नै घर भए कति आनन्द हुन्थ्यो।

तर आफ्नै घर भएको मानिस लाई त्यो घर साँघुरो लाग्न थालेको छ। उसलाई अझ ठूलो बैठक कोठा, फराकिलो आँगन र आधुनिक सजावट भएको अर्को घर चाहिएको छ।

गाडी नभएको मानिस सार्वजनिक याता यातमा यात्रा गर्दै सोच्दछ, एउटा सामान्य गाडी भए पनि कति सजिलो हुन्थ्यो। तर गाडी भएको मानिस बाटोमा आफूभन्दा महँगो गाडी देख्दा आफ्नै गाडी पुरानो लाग्न थाल्छ।

नेपालमा बसेको मानिसको सपना विदेश पुग्नु छ। उसलाई लाग्छ, विदेश पुगेपछि जीवन व्यवस्थित हुनेछ, आम्दानी बढ्नेछ र दुःख कम हुनेछ। तर विदेशमा वर्षौँ बिताएको मानिस लाई आफ्नै गाउँको साँझ याद आउँछ। घरको आँगन, आमाले पकाएको खाना, साथीहरू सँगको भेट घाट र चाडपर्वको रौनक सम्झँदा उसको मन भारी हुन्छ।

यसरी हेर्दा हामी सबैसँग केही न केही छ, तर हाम्रो ध्यान प्रायः आफूसँग भएको कुरामा होइन, नभएको कुरामा अडिएको हुन्छ।

चाहना किन कहिल्यै पूर्ण हुँदैन?

चाहना आफैँमा नराम्रो होइन। चाहना नभएको भए मानिसले नयाँ कुरा सिक्ने, परिश्रम गर्ने र जीवनलाई अगाडि बढाउने प्रेरणा पाउँदैनथ्यो। आजको संसारमा भएका धेरै आविष्कार र परिवर्तन मानिसको आवश्यकता र चाहनाबाटै जन्मिएका हुन्।

समस्या चाहना हुनुमा होइन, एउटा चाहना पूरा भएपछि खुसी सधैँका लागि टिकि रहन्छ भन्ने हाम्रो भ्रममा छ।

हामीले कुनै वस्तु वा उपलब्धि नपाउँदा सम्म त्यसलाई जीवनको सबैभन्दा ठूलो आवश्यकता ठान्छौँ। पाएपछि केही समय अत्यन्त खुसी हुन्छौँ। तर बिस्तारै त्यो हाम्रो दैनिक जीवनको सामान्य हिस्सा बन्न पुग्छ। कुनै समय सपना जस्तो लागेको वस्तुले केही महिनापछि पहिलेको जस्तो उत्साह दिन छोड्छ।

त्यसपछि मनले अर्को लक्ष्य खोज्न थाल्छ।

सानो घर पाएपछि ठूलो घर, साधारण गाडीपछि महँगो गाडी, राम्रो जागिरपछि अझ ठूलो पद, केही बचत भएपछि अझ धेरै सम्पत्ति। हामी पुग्न खोजेको गन्तव्य सधैँ केही कदम पर सर्दै जान्छ।

सायद चाहनाको स्वभाव नै त्यस्तै हो। एउटा चाहना पूरा हुँदा त्यसको अन्त्य हुँदैन, त्यही ठाउँबाट अर्को चाहनाको जन्म हुन्छ।

तर प्रत्येक नयाँ चाहनाको पछि दौडिनुअघि एउटा प्रश्न सोध्नु आवश्यक छ:

“यो साँच्चै मेरो आवश्यकता हो, कि अरूलाई देखेर जन्मिएको इच्छा मात्र हो?”

तुलनाले आफ्नै जीवनलाई सानो बनाउँछ

हामीलाई दुःखी बनाउने कुरा सधैँ अभाव मात्र हुँदैन। धेरैपटक अरूसँगको तुलना नै हाम्रो असन्तुष्टिको मुख्य कारण हुन्छ।

आफ्नो घरमा खुसी भएको मानिसले छिमेकीको ठूलो घर देखेपछि आफ्नो घरलाई कमजोर ठान्न थाल्छ। आफ्नै काममा सन्तुष्ट भएको व्यक्तिले साथीको पदोन्नति सुनेपछि आफू पछाडि परेको अनुभव गर्छ। परिवारसँग रमाइ रहेको मानिसले अरूको विदेश भ्रमणको तस्बिर देखेपछि आफ्नो जीवन नीरस ठान्न सक्छ।

तुलनाको सबैभन्दा ठूलो कमजोरी के हो भने हामी आफ्नो सम्पूर्ण जीवनलाई अरूको देखिएको एउटा अंशसँग तुलना गर्छौँ।

हामीलाई आफ्नो संघर्ष, ऋण, कमजोरी, डर र अधुरा सपना सबै थाहा हुन्छन्। तर अरूको जीवनमा उनीहरूले देखाउन चाहेको सुन्दर भाग मात्र देखिन्छ। त्यसपछि हामी उनीहरूको बाहिरी चमकसँग आफ्नो भित्री पीडाको तुलना गर्न थाल्छौँ।

यही तुलना बारम्बार दोहोरिँदा हामीले आफ्नै उपलब्धि लाई सामान्य र अरूको उपलब्धि लाई असाधारण ठान्न थाल्छौँ।

हामी कति टाढा आइपुगेका छौँ भन्ने बिर्सन्छौँ। केवल अरू हामीभन्दा कति अगाडि छन् भन्ने मात्र देख्न थाल्छौँ।

सामाजिक सञ्जाल ले देखाउने अधुरो सत्य

सामाजिक सञ्जाल ले हामीलाई संसारसँग जोडेको छ। यसले ज्ञान, अवसर र अभिव्यक्तिको नयाँ ढोका खोलेको छ। तर यही माध्यमले अनजानमै हाम्रो असन्तुष्टि पनि बढाइ रहेको छ।

सामाजिक सञ्जालमा मानिसहरूले प्रायः जीवनका राम्रा क्षण देखाउँछन्। नयाँ घर, नयाँ गाडी, विदेश यात्रा, स्वादिलो खाना, सफल व्यवसाय, हाँसिरहेको परिवार र सुन्दर सम्बन्ध।

तर त्यही घरको ऋण देखिँदैन। गाडी किन्न गरेको संघर्ष देखिँदैन। यात्राको पछाडिको थकान देखिँदैन। मुस्कान भित्र लुकेको चिन्ता देखिँदैन। राम्रो देखिएको सम्बन्ध भित्रको दूरी पनि देखिँदैन।

हामी अरूको जीवनको सम्पादित दृश्य हेर्छौँ, तर त्यसलाई उनीहरूको पूर्ण जीवन ठान्छौँ।

बिस्तारै हामीलाई आफ्नो साधारण दिन व्यर्थ लाग्न थाल्छ। घरमा परिवारसँग बसेर खाएको खाना सामान्य लाग्छ। स्वस्थ भएर बिहान उठ्नु सामान्य लाग्छ। नियमित काम हुनु, घर फर्कने ठाउँ हुनु र दुःखमा सम्झने मानिस हुनु पनि सामान्य लाग्छ।

वास्तवमा यिनै सामान्य लाग्ने कुरा जीवनका सबैभन्दा असाधारण उपहार हुन सक्छन्।

सामाजिक सञ्जाल हेर्नु गलत होइन। तर त्यहाँ देखिएको हरेक चमकलाई सत्यको पूर्ण रूप मान्नुचाहिँ गलत हुन सक्छ।

सन्तोष र प्रगति फरक कुरा हुन्?

कतिपय मानिसलाई लाग्छ, सन्तोष गर्नु भनेको महत्त्वाकाङ्क्षा त्याग्नु हो। आफूसँग भएकोमा खुसी भएपछि मानिसले प्रगति गर्न छोड्छ भन्ने धारणा पनि पाइन्छ।

तर सन्तोष र निष्क्रियता एउटै कुरा होइनन्।

सन्तोषको अर्थ, “अब मलाई केही चाहिँदैन” भन्नु होइन। यसको अर्थ, “आज मसँग जे छ, त्यसको मूल्य बुझ्छु; तर भोलिलाई अझ राम्रो बनाउन पनि प्रयास गर्छु” भन्नु हो।

असन्तुष्टि ले पनि मानिस लाई अघि बढाउन सक्छ, तर त्यस यात्रामा शान्ति हुँदैन। ऊ एउटा लक्ष्य पूरा गरेपछि खुसी हुन नपाउँदै अर्को अभाव खोज्न थाल्छ।

सन्तोष बाट जन्मिएको प्रगतिमा भने हतार कम हुन्छ, स्पष्टता बढी हुन्छ। मानिस अरूलाई जित्नका लागि होइन, हिजोको आफू भन्दा राम्रो बन्नका लागि प्रयास गर्छ।

सन्तोष ले हामीलाई रोक्दैन। यसले हामीलाई आफ्नो यात्राको सम्मान गर्दै अगाडि बढ्न सिकाउँछ।

प्रगति जीवनको बाहिरी यात्रा हो भने सन्तोष भित्री शान्ति हो। यी दुईमध्ये एउटा रोज्नुपर्ने होइन। दुवैलाई सँगसँगै लैजान सकिन्छ।

कृतज्ञ हुँदै ठूलो सपना देख्न सकिन्छ

कृतज्ञ हुनु भनेको सानो सपना देख्नु होइन। वर्तमानलाई स्वीकार गर्नु भनेको भविष्यप्रति उदासीन हुनु पनि होइन।

एउटा सानो घर भएको मानिसले ठूलो घरको सपना देख्न सक्छ। तर नयाँ घरको खोजीमा अहिलेको घरभित्र बस्ने मानिसहरूको माया बिर्सनु हुँदैन।

साधारण गाडी चलाउने मानिसले राम्रो गाडी किन्ने लक्ष्य राख्न सक्छ। तर नयाँ गाडी नआएसम्म पुरानो गाडीले दिएको सुविधा र सुरक्षित यात्रालाई तुच्छ ठान्नु हुँदैन।

विदेशमा बसेको मानिसले आर्थिक सफलता खोज्न सक्छ। तर त्यस यात्रामा आफ्नो स्वास्थ्य, परिवार, सम्बन्ध र मातृभूमिसँगको आत्मीयता गुमाउनु हुँदैन।

कृतज्ञता ले सपना लाई सानो बनाउँदैन। बरु सपनासम्म पुग्ने यात्रालाई सुन्दर बनाउँछ।

कृतज्ञ मानिसले भन्छ:

“मसँग भएको कुरा पर्याप्त छ, तर म आफ्नो क्षमता अझ विस्तार गर्न चाहन्छु।”

अकृतज्ञ मनले भन्छ:

मैले अझ धेरै नपाए सम्म मेरो जीवनको कुनै मूल्य छैन।

यिनै दुई सोचबीच जीवनको ठूलो भिन्नता लुकेको हुन्छ।

नपाएको खोज्दा पाएको नछुटोस्

हामी भविष्य सुरक्षित बनाउन आज परिश्रम गर्छौँ। तर कहिले काहीँ भविष्य बनाउने दौडमा वर्तमान नै बाँच्न बिर्सन्छौँ।

पैसा कमाउने क्रममा स्वास्थ्य गुमाउँछौँ। ठूलो घर बनाउने क्रममा त्यही घरमा बस्ने परिवारसँगको समय गुमाउँछौँ। काममा सफल हुने प्रयासमा आफ्ना मानिसको आवाज सुन्न छोड्छौँ। सामाजिक प्रतिष्ठा जोगाउने क्रममा आफ्नै सरलता र आत्मिक शान्ति गुमाउँछौँ।

जब खोजेको कुरा प्राप्त हुन्छ, कहिलेकाहीँ त्यसको मूल्य तिर्न हामीले गुमाएको कुरा त्योभन्दा धेरै महत्त्वपूर्ण भइसकेको हुन्छ।

हामी धेरै पैसा कमाउन सक्छौँ, तर बितेको समय किन्न सक्दैनौँ। सुविधा थप्न सक्छौँ, तर बिग्रिएको स्वास्थ्य तुरुन्त फर्काउन सक्दैनौँ। हजारौँ मानिससँग जोडिन सक्छौँ, तर टाढिएका आफ्ना मानिससँगको पुरानो आत्मीयता सधैँ उस्तै बनाउन सक्दैनौँ।

त्यसैले सपना देख्दा, दौडिँदा र कमाउँदा बीचबीचमा रोकिएर हेर्नुपर्छ:

मैले के प्राप्त गर्दै छु?

त्यसका लागि के गुमाउँदै छु?

र मैले गुमाइरहेको कुरा फेरि प्राप्त गर्न सकिन्छ कि सकिँदैन?

कहिलेकाहीँ फर्केर हेर्नुपर्छ

आज हामीसँग भएका धेरै कुरा कुनै समय हाम्रो प्रार्थना थिए।

आज सामान्य लागेको जागिर कुनै समय खोजिरहेको अवसर हुन सक्छ। अहिले साँघुरो लागेको घर कुनै समय आफ्नै छानोको सपना थियो। अहिले पुरानो लागेको गाडी कुनै समय ठूलो सुविधा थियो। आज सामान्य लागेका परिवारका सदस्यहरू कुनै दिन केवल सम्झनामा सीमित हुन सक्छन्।

यसको अर्थ हामी जहाँ छौँ, त्यहीँ रोकिनुपर्छ भन्ने होइन। अघि बढ्नुपर्छ, नयाँ कुरा सिक्नुपर्छ, ठूला सपना देख्नुपर्छ र आफ्नो जीवनलाई अझ राम्रो बनाउनुपर्छ।

तर अगाडि हेर्दाहेर्दै पछाडि फर्केर आफूले पार गरेको बाटो पनि हेर्नुपर्छ। टाढाको उज्यालोतर्फ दौडिँदा आफ्नो हातमा बलिरहेको सानो दियो निभ्न दिनु हुँदैन।

जीवन केवल पाउने यात्रा होइन। पाएको कुरा चिन्नु, त्यसको सम्मान गर्नु र जोगाउनु पनि जीवनकै महत्त्वपूर्ण कला हो।

सायद खुसी सबै चाहना पूरा भएको अवस्थामा भेटिँदैन। खुसी त अपूर्ण चाहनाहरूका बीचमा पनि आफूसँग भएका कुराको मूल्य बुझ्न सक्ने मनमा भेटिन्छ।

त्यसैले आज एकछिन रोकिनुहोस्। आफ्नो घर हेर्नुहोस्। परिवारको अनुहार हेर्नुहोस्। आफ्नो स्वास्थ्य, काम, यात्रा र संघर्ष सम्झनुहोस्। आफूले गुमाएका कुरा मात्र होइन, अझै बाँकी रहेका अमूल्य कुरा पनि गन्नुहोस्।

अनि आफैँलाई सोध्नुहोस्:

नपाएको खोज्दाखोज्दै, पाएको गुमाइरहेका त छैनौँ?

जब समय थियो अवसर थिएन | विदेशको जीवनको एउटा सत्य

विदेशको जीवन हिजो मात्र सुरु भएको जस्तो लाग्छ। तर समय चुपचाप बितिरहन्छ। “जब समय थियो अवसर थिएन” भन्ने अनुभूति हजारौँ नेपालीको साझा कथा हो। हिजो …

Read more

डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्छ

डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्छ डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो …

Read more

श्रीमान र श्रीमती: एक अर्काका अभिन्न अंग हुन्

श्रीमान र श्रीमती: एक अर्काका अभिन्न अंग हुन् मानिसको जीवनमा विवाह एउटा महत्वपूर्ण सङ्कल्प हो। यो केवल दुई व्यक्तिहरूको साथमा बस्ने कानुनी व्यवस्था मात्र होइन, …

Read more